बालकृष्ण अधिकारी
विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत बिपी पालनिटोरियम बोर्डका अध्यक्ष तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाका माहिला छोरा हुन् श्रीहर्ष कोइराला । नेपालमा कम्प्युटर सफ्टवेयर सञ्चालन गर्ने पहिलो व्यक्ति पनि हुन् श्रीहर्ष । २००८ मा जन्मेका उनको राजनीतिमा सक्रियता छैन । दाइ प्रकाश र भाइ शशांक राजनीतिमै सक्रिय भए पनि उनी भने पालनिटोरियम बनाउन लागिपरेका छन् । त्रिविले दिएको झन्डै दुई सय रोपनी जग्गामा उनी ‘साइन्स म्युजियम’ बनाउन भनेर लागेका छन् । श्रीहर्षको प्रत्यक्ष अनुभूतिमा नेपालको राजनीति र बिपी उनकै शब्दमा हामीले पस्केका छौँ ।
बिपीको सिद्धान्तलाई प्रत्यक्ष रूपमा मैले पूरा गर्न सकेको छैन । अप्रत्यक्ष रूपमा उहाँको विचारलाई पूरा गर्न लागिपरेको छु । राजनीति सबैभन्दा राम्रो ‘सोसियल सर्भिस’ रहेछ । बिपीसँग राजनीतिज्ञमा हुनुपर्ने विचार थियो । त्यसैअनुसारको उचाइ र ‘आइडिया’ पनि थियो, त्यसैले उहाँ राजनीतिमा सफल हुनुभयो । राजनीतिमा होमिएकाजति सबै सफल हुन्छन् भन्ने छैन । म उहाँजस्तै त बन्न सक्दिनँ । तर, उहाँको छोरा भएको नाताले मैले उहाँबाट केही सिकेको छु ।
नेपालमा माइक्रो कम्प्युटरबारे कसैलाई थाहा थिएन । पहिलोपटक मैले सफ्टवेयर बनाएँ । त्यो अहिले पनि प्रयोगमा छ । बिपीले जस्तै मुलुकलाई ठूलो योगदान दिन नसके पनि राजनीतिबाट बाहिरै रहेर केही योगदान गरेको छु । उहाँका अगाडि भने यो ठूलो होइन । सबैले राजनीति नै गर्नुपर्छ भन्ने पनि छैन । कहिलेकाहीँ ‘राजनीति गरौँ’ जस्तो पनि लाग्छ । तर, दाइ, भाइ वा परिवारका अन्य सदस्य पदमा पुगेको वा उनीहरूको चर्चा भएकै कारण ‘राजनीति गरौँ’ भन्नेचाहिँ लागेन । राजनीति गर्दै गर्दिनँ भन्ने होइन । तर, मुलुकमा राजनीतिक संकट आयो भने म पनि राजनीतिमा आउन सक्छु । संकटलाई साथ दिनसके नेता बनिन्छ ।
मुलुकलाई बिपीभन्दा पनि ठूलो योगदान उहाँका पिताजी (कृष्णप्रसाद) को थियो । बिपीले पिताबाटै राजनीतिमा आउन प्रोत्साहन पाउनुभएको हो । राम्रो राजनीतिक संस्कार पाएकैले तीन छोरा बिपी, मातृका र गिरिजाप्रसाद नेपालको प्रधानमन्त्री बन्नुभयो । बिपीका विचारलाई आमजनतामाझ पुर्याउन सके राजनीतिमा ठूलो योगदान पुग्ने थियो । म राजनीतिमा सक्रिय छैन तर राजनीतिमा लागेका परिवारका अन्य सदस्यलाई निकै सहयोग गरिरहेको छु ।
**
हाम्रो परिवारबाट फेरि एकजना लेखक भइदिएको भए उसको पनि उत्तिकै महत्त्व हुन्थ्यो । म बिपीको छोरा भएर पनि राजनीति गरेन भन्ने सबैलाई लागेको छ । राजनीति नगरे पनि म फटाहा वा अपराधी त भएको छैन नि !
म राजनीतिमा नभए पनि ‘जागिरका लागि भनिदेऊ’ भन्न धेरै मान्छे आउँछन् । सरुवा-बढुवाका लागि पनि भनिदिनोस् भन्न आउँछन् । मैले भनेर के लाग्छ र ? चिनेको आधारमा कसैलाई भनिदिने हो भने ठूलो संघर्ष गरेर आएकाहरू पछि पर्छन् । पार्टीको कार्यकर्ता भएकै कारण सबैलाई जागिर दिनुपर्छ भन्ने छैन । म ‘गिरिजाबाबु वा शशांकलाई भेट’ भन्छु । गिरिजाबाबु र शशांकलाई नसोधी म केही पनि गर्दिनँ । कांगे्रसबाहेक अरू पार्टीका मान्छे पनि मलाई ‘कामका लागि भनिदिनोस्’ भन्न आउँछन् । तर, उनीहरूलाई सकेसम्म ‘आफ्नै पार्टीमा गएर भन’ भन्छु । उताबाट भएन भने मैले सक्ने काम गरिदिने गरेको छु ।
देशको राजनीति अत्यन्त जटिल बन्दै छ । बिपीको लाइनलाई आधार मानेर मूल्यांकन गर्ने हो भने परिवारका मात्र होइन कसैले पनि काम गरेका छैनन् । तर, गिरिजाबाबुले चाहिँ ठूलो योगदान गर्नुभएको हो । अब त गिरिजाबाबु वृद्ध हुनुभयो । उहाँपछि पार्टी र मुलुकलाई अभिभावकको ठूलो खडेरी लाग्ने संकेत मैले देखेको छु । पहिले राजा थिए, राजापछि मुलुकको अभिभावकको काम गिरिजाबाबुले गर्नुभएको थियो । उहाँ पछि को ? जनताले फेरि राजा चाहियो भन्ने अवस्था पनि नआउला भन्न सकिन्न ।
हुन त पार्टीमा सुशील दाको योगदान धेरै छ । तर, उहाँको योगदान मान्छेले बुझ्दै बुझ्दैनन् । उहाँ त तुलसी गिरीको मान्छे हो । उहाँको रुचि फोटो खिच्ने र हलिउडमा जान्छु भन्ने थियो । उहाँ स्मार्ट हुनुहुन्थ्यो । तर, त्यो सबै छोडेर राजनीतिमा लाग्नुभयो । उहाँले तुलसी गिरीको पार्टी पनि छोड्नुभयो र बिपीतिर लाग्नुभयो । अहिले पनि मन्त्री, प्रधानमन्त्री खानुहोस् भन्दा ‘मलाई पार्टीकै काम गर्न देऊ’ भन्नुहुन्छ । शैलजा दिदीको पनि ठूलो योगदान छ । उहाँ अहिले हुनुहुन्न । कांग्रेसमा कोइराला परिवारको धेरै योगदान छ । तर, हामीले भन्दा धेरै दुःख गर्नेहरू पनि छन् ।
गिरिजापछि सुशील दाले पार्टी चलाउन सक्नुहुन्न । शशांक धेरै सानो छ । शेखर दामा राम्राे खुवी होला, तर राजनीतिक विचार नहुनसक्छ । सुजाता त गिरिजाबाबुकी छोरी तर के गर्न सक्छिन् र ? तर म पनि कही गर्न सक्दिनँ । सुजातालाई उपप्रधानमन्त्री बनाएकोमा पार्टीभित्रैबाट विरोध भएको छ । गिरिजाबाबुका लागि पनि नराम्रो बनायो । तर, गिरिजाबाबुको दबाबमा उनलाई सो पदमा पुर्याइएको हो भन्ने मलाई लाग्दैन । गिरिजाबाबुकी छोरी भएकाले उसलाई मात्र अघि बढाउने भन्ने अहिलेसम्म छैन । गिरिजाबाबुले गरेको धेरै कुरा मलाई पनि चित्त बुझेको थिएन । मैले उहाँलाई गएर भनेको छु । मेरो -सुकेधारा) को घरमा उहाँ आउनुहुन्थ्यो । घरमा पारिवारिक, राजनीतिक मिटिङ हुन्थ्यो । पारिवारिक मिटिङमा म सहभागी हुन्थेँ । तर, राजनीतिकमा कहिल्यै बसिनँ । माओवादीसँग गिरिजाबाबुको पहिलोपटक मेरै घरमा मिटिङ भएको थियो ।
माओवादी जंगलमै भएको वेला नारायणकाजी श्रेष्ठ मेरो घर आउनुभएको थियो । सुरुमा आउँदा त चप्पल र फाटेकोजस्तो पुरानो लुगा लगाएर आउनुभएको थियो । मैले चिनेको पनि थिइनँ । उहाँले ‘म माओवादीको मान्छे’ भनेपछि मात्रै चिनेँ । मैले फोन गरेर बोलाएपछि महाराजगन्जमा बस्ने गिरिजाबाबु नारायणकाजीलाई भेट्न आउनुभयो । ५/७ दिनपछि उहाँहरूबीच फेरि भेट भयो । गिरिजाबाबुले भनेर नारायणकाजीलाई मैले एक/दुईपटक घरसम्म पुर्याइदिएको पनि छु । उहाँ पाटनमा बस्नुहुन्थ्यो । मैले गिरिजाबाबुसँग कि माओवादीलाई शान्तिप्रक्रियामा ल्याउनुपर्छ, होइन भने खत्तम बनाउनुपर्छ भनेको थिएँ ।
**
अाफ्ना लागि मात्र काम गर्ने बानी नेताहरूले छोड्नुपर्छ । नेताहरूले अहिलेको सोचमा परिवर्तन नगरेसम्म देशमा केही हुँदैन । दलहरूले आफूलाई परिवर्तन गर्नैपर्छ । नेताहरूले आफ्ना लागि पैसा कमाएका छन्, पद जोगाएका छन् ।
बिपी देश र जनताप्रति निकै गम्भीर हुनुहुन्थ्यो । एक दिन बिपी र ऋषिकेश शाहबीच कुनै विषयमा विवाद हुदा उहाँ (बिपी) ले रातभरि बसेर सोच्नुभएको थियो । उहाँ बिहान चार बजे उठेर पढ्नुहुन्थ्यो । म फिजिक्सको विद्यार्थी भएकाले त्यस विषयमा पनि निकै रुचि राखेर सोध्नुहुन्थ्यो । बिपी एउटै कुरालाई धेरै कोणबाट हेर्नुहुन्थ्यो । बिपीलाई भारत स्वतन्त्र नभएसम्म नेपालमा स्वतन्त्रता सम्भव छैन भन्ने लाग्थ्यो । अहिलेका नेताहरूमा दूरदृष्टि भेटेको छैन ।
**
जनमतसंग्रहको समयमा म भारतमा थिएँ । तर, १५ दिनअघि नै मैले नेपालमा बहुदल कति भोटले हार्दै छ भन्ने थाहा पाइसकेको थिएँ । भारतको इन्टेलिजेन्सको मान्छेले मलाई आएर भनेको थियो । निर्वाचनको परिणामलाई बिपीले स्वीकार गर्नुभयो । जनता आन्दोलन गर्न तयार थिए । तर, आन्दोलन गरेको भए ठूलो क्षति हुन्थ्यो । त्यसैले विरोध सहेर पनि निर्वाचनको परिणामलाई स्वीकार गर्नुभएको हो ।
लामो समय प्रवास (भारत) बसाइपछि पिताजी -बिपी) जब नेपाल आउनुभयो मलाई असाध्यै खुसी लागेको थियो । तर, जब उहाँ फेरि जेल पर्नुभयो म धेरै दुःखी भएको थिएँ । भारतमै बस्नुभएको भए बरु राजनीतिक मान्छेसँग भेटघाट गर्न पाउनुहुन्थ्यो होला । राजाले जनमतसंग्रह घोषणा गर्दा मलाई असाध्यै खुसी लाग्यो । पहिला दुःख नगरेको भए यो सुखको दिन सायदै आउँथ्यो । सरकार र पार्टीले गरेका निर्णयहरू कतिपय सुखद छन् भने कतिपय दुखद पनि ।
केटाकेटी अवस्थामा मैले जति सुख पाउनुपर्ने हो, त्यो पाइनँ भन्ने लागेको थियो । मलाई मेरो देश नेपाल हो भन्ने पनि जानकारी थिएन । मेरा साथी नयाँ लुगा लगाएर मेरोअघि आउँथे । म सधंै पुरानो लुगा मात्र लगाउँथेँ । हाम्रो आर्थिक स्थिति साह्रै कमजोर थियो ।
**
कांग्रेसले राम्रो काम गरिरहेको छैन । त्यसमा मलाई दुःख लाग्छ । तर, सबै पार्टी उस्तै छन् । नराम्रामध्ये राम्रो खोज्ने हो भने कांग्रेस नै सबैभन्दा राम्रो छ । प्रजातन्त्र ल्याउनका लागि कांग्रेसले ठूलो मूल्य चुकाएको छ । अहिले त प्रजातन्त्र छ । हाम्रा लागि सबैभन्दा सुखद कुरा यही हो ।
दलहरूमाथि प्रतिबन्ध भएको वेला म भारतबाट विराटनगर आउने क्रममा एक दिन जेल परेको छु । त्यो पनि घर र्फकंदा मेरो ब्यागमा एउटा म्यागजिन भएको कारण । म त विद्यार्थी थिएँ । बनारसबाट घर फर्केको त्यसवेला नेपालमा भएको आन्दोलनको विषयमा लेखिएको पत्रिका लिएर आएको भनेरै मलाई एक रात जेल राखेका हुन् ।
बिपीको छोरा भएकै कारण मैले धेरै कुरा पाएको पनि छु र गुमाएको पनि । बिपी नेपाल आउनुभएपछि जेल पर्नुभयो । त्यसवेला मैले अमेरिका गएर पिएचडी गर्छु भनेँ । मैले अप्लाई गरेँ र अमेरिकाले मलाई सेलेक्सन गर्यो । तर, बिपीकै छोरा भएका कारण तत्कालीन सरकारले मलाई राहदानी दिएन । अनेक झन्झटले म अमेरिका जान पाइनँ ।
अमेरिका जान नपाएपछि नेपालमै केही गरौँ भन्दा पनि सरकारले धेरै बाधा पुर्यायो । त्यसवेला टिचिङ हस्पिटलमा नवीनजंग शाह प्रमुख थिए र पशुपतिशमशेर शिक्षामन्त्री । त्यहाँ फिजिक्स टिचर चाहिएको थियो । सरकारले सूचना निकालेर टिचर माग गर्यो । मैले निवेदन दिएँ । मेरोबाहेक नेपालभरिबाट कसैको पनि आवेदन परेन । तर, बिपीकै छोरा भएकोले मैले त्यहाँ पनि जागिर पाइनँ । त्यसवेला मैले तत्कालीन शिक्षामन्त्री पशुपतिजीसँग झगडा पनि गरेँ । त्यसपछि तत्कालीन सरकारले मलाई ‘टेम्पोररी’ जागिर दियो । एक वर्ष पढाएँ । त्यसपछि मलाई भारत गएर पिएचडी गरौँ जस्तो लाग्यो र छोडिदिएँ ।
**
म बिस्तारै कम्प्युटर सिक्न थालेँ । त्यसको दुई वर्षमै नेपालमा कम्प्युटर स्कुल चलाउन थालेँ । दुःख त भयो तर बिपीले गरेको संघर्षले मलाई इन्करेज गर्यो । घरमा अहिले पनि म छोराछोरीलाई ‘तिमीहरूलाई दुःख भयो भने बिपीले गरेको संघर्षलाई पढ’ भन्ने गरेको छु । राजनीतिमा सुखदुःख हुन्छ । म बिपीजस्तो हुन नसकेकोमा साह्रै दुःख लागेको छ । बिपीको संघर्ष लामो थियो । उहाँ (बिपी) सँग पैसा पनि थिएन । मसँग अहिले पैसाको त दुःख छैन । तर, पिताजी -बिपी) सँग जीवनभरिमा जम्मा एक महिना पनि सँगै बस्न पाइनँ । बाबुछोराजस्तो गरेर कहिल्यै बस्नै पाइनँ । उहाँ (बिपी) ले हरेक समय जेलमा बिताउनुभयो ।
धेरैले बिपीको छोरा किन राजनीति गर्दैन ? भन्छन् । धु्रवचन्द्र गौतमले मलाई लेख्ने काम गर्नुस् भन्नुभएको छ । मेरा लागि सबैभन्दा ठूलो दोष पनि बिपी नै हुनुभएको छ । उहाँले जस्तो मैले केही गर्न सकिनँ । मैले गरेका काम सबै छायामा परेका छन् ।
प्रकाश दा, म र शशांकले आ-आफ्नो ठाउँबाट काम गरिरहेका छौँ । तर, बिपीको छोरा प्रकाशले किन राजनीतिमा राम्रो गर्न सकेन ? शशांक डक्टरी गरिरहेको थियो त्यो पनि छोडेर राजनीति थाल्यो । तर, बिपीजस्तो पनि हुन सकेन ।
के कारण हो, प्रकाश दा राजाको शासनमा मन्त्री बन्नुभयो । उहाँ आफ्नो फरक मत कसैलाई पनि भन्नुहुन्न । राजाको सरकारमा सहभागी भएपछि कांग्रेसले उहाँलाई कारबाही गरेको छ । प्रजातन्त्रका लागि जीवनभरि पिताजी लड्नुभयो । तर, प्रकाश दाले जे गर्नुभयो त्यो राम्रो गर्नुभएन । यसले प्रजातन्त्र र सिंगो कांग्रेसलाई ठूलो क्षति पुगेको छ ।
कोइराला परिवार राजनीतिमा आउनुमा हजुरबुबा कृष्णप्रसाद र पिता बिपीको ठूलो योगदान छ । राणा शासनको वेला आइमाईले घोडा चढ्ने, पौडी खेल्ने चलन थिएन । यो राणाहरूले मात्र गर्ने हो भन्ने थियो । तर, हजुरबुबा (कृष्णप्रसाद) ले परिवारका सबैलाई घोडा चढाउने, पौडी खेलाउन पनि लैजाने गर्नुहुन्थ्यो । त्यसवेला पनि हामी अंग्रेजी बोल्थ्यौँ, स्विमिङ, घोडचढी सबै गर्थ्यौं । त्यसैले त्यसवेला कोइराला परिवारलाई सबैले राणाभन्दा कम छैन भन्थे ।
bkadhikari16@yahoo.com
from:nayapatrika.com