कपाल फुल्नुमा बुवा-आमा जिम्मेवार

December 19, 2009

कान्तिपुर संवाद्‍दाता

२०६६ पुस ३ - तपाईंको कपाल निरन्तर सेतो भइरहेको छ ? के तपाईं तनावले गर्दा यस्तो हुन्छ भन्ने सोच्नुहुन्छ ? यस्तो सोच्नुहुन्छ भने तपाईं पूर्णरूपमा  गलत हुनुहुन्छ । किनभने सेतो कपालका लागि तनाव नभएर तपाईंका बुवा-आमा जिम्मेवार हुन्छन् ।

प्लास जर्नलमा प्रकाशित अध्ययनअनुसार महिलाको कपाल फुल्नुको पछाडि उनीहरूको पारिवारिक इतिहासले महत्त्व राख्छ । यसलाई प्रमाणित गर्न अनुसन्धानकर्ताले डेनमार्कका जुम्ल्याहा दिदी-बहिनीको अध्ययन गरे जसको आयु ५९ र ८१ वर्ष थियो । 

अध्ययनमा वैज्ञानिकहरूले यस्ता जुम्ल्याहा महिलाहरूको सेतो कपालमा निकै कम अन्तर पाए जो हेर्दा एकनासका थिए । र, उनीहरूमा एकैखाले जीन थिए ।

जो जुम्ल्याहा दिदी-बहिनी हेर्नमा एकजस्ता थिएनन् तिनको जीनमा समेत फरक देखिएको थियो । अनुसन्धानकर्ताहरूले के भनेका छन् भने कपाल फुल्नुको कारण तनाव नभएर आनुवांशिक हुन्छ । अनुसन्धानले महिलाको सेतो कपालका लागि पर्यावरण वा तनावको माहौल जिम्मेवार नरहेको उल्लेख गरेको छ ।

अध्ययनको निचोडअनुसार धेरैजसो व्यक्तिको कपाल फुल्न थालेमा त्यसको कारण शरीरमा कुनै खास तत्त्वको कमी, रहनसहनमा बदलाव नभएर आनुवांशिक हुने गरेको छ ।
from ekantipur.com

टमाटरको कार्टुनभित्र दुबई

December 18, 2009

पार्वती अर्याल

२०६६ पुस २ - तपाईं दुबई कसरी आउनुभयो ? ओमानबाट टमाटरको कार्टुनभित्र अनि ओमान कसरी जानुभयो ? दुबईको साहुले ओमान पठाएर तपाईंको पासपोर्ट र अरू कागजात कहाँ छ ? खोई….। तपाईं अहिले कहाँ आउनुभएको छ, थाहा छ ? खोई….। थरथर काँप्दै दिइएको यो जवाफ इलाम, घर बताउने भक्तमाया राईको हो । कसैसँग खासै कुरा गर्न नचाहने अन्दाजी ३१ वर्षकी राईलाई मैले विस्तारै सोध्दा घोप्टोमात्रै परिरहन्थिन् । एक हप्ता नेपाली दूतावासमा राख्दा राईको होशहवास ठाउँमा आइपुगेको थिएन । सातौं दिन तपाईंलाई नेपाल पठाइदिन्छौं, जाने ? भनेर सोध्दा आँसुले भरिएका आँखा हेर्दै हाँसिन् भक्तमाया । उनको रुन्चे हाँसोले केही आशा पलायो । म उनलाई फकाउँदै सोध्दै गएँ, उनको बुबाआमा उनी सानै छँदा बितेका रे । उनी फुपूको डेरामा काठमाडौं बस्दै गर्दा एकजना शेर्पेर्नीले दुबईको साहुसँग पैसा लिई बेचेकी रहिछ । दुबईको साहुले पुनः ओमानको मस्कटमा बेचेछ । ओमानको साहुबाट शारीरिक तथा मानसिक तनाव ब्यहोर्नुपरेपछि फोहोर लिएर घरबाहिर आएको मौकामा एकसरो प|mक र टप कुर्ता लगाएकी उनी त्यत्तिकै भागिछन् । उनको ज्यान बचाइदिने अनुरोधमा पठानी केटाहरूले टमाटर लिएर दुबई आउने गाडीको टमाटरको कार्टुनभित्र हालेर पठाइदिएछन् । गाडीसँगै सीमा पार गरी दुबई आएपछि विभिन्न मान्छेकहाँ २ महिना बसेपछि एकजना नेपालीले दूतावासमा ल्याइदिए । जे होस्, धेरैचोटी जिउँदै मरे पनि उनी आफ्नो नेपाल र्फकने शौभाग्य पाइन् । घरमा काम गर्न भनी विभिन्न दलालमार्फत सिन्धुपाल्चोक, मकवानपुर, काभ्रेबाट ओमान, कुवेत वा युएई आउने महिलाहरूको प्रतिनिधि पात्र हुन्, उनी । नेपालबाट सद्धे युएई आएकी राई रगत वान्ता गर्छिन्, अहिले । मुरलीजत्रो जीउ, आत्मग्लानिसहितको भावना र विना आफन्तको नेपाल फिर्तीमा रुन्चे हाँसो निकालिन् उनले, नेपाल र्फकन पाउँदा । कात्तिक र मंसिर गरी २ महिनाको अवधिमा नेपाली दूतावास, युएईमा राईसहित ७ जना हाउसमेडहरू आइपुगेका छन् । राईसहित ४ जना नेपाल पठाइसकिएको छ भने १ जनाको केश श्रम अदालतमा चलिरहेको छ र बाँकी २ जनाको पुलिस अफिसमा । वैदेशिक रोजगार ऐन, २०६४ ले वैदेशिक रोजगारीमा महिला-पुरुषको समान अधिकार स्थापित गरिदिए पनि खाडी मुलुकमा घरेलु महिला कामदारहरूलाई विशेष सुरक्षाको प्रत्याभूति दिन नसकिएको कारण नेपाल सरकारबाट रोक लगाइएको अवस्था छ । भारतको बाटो प्रयोग गरी रोजगारी भिसामा मात्र होइन, नेपालकै एयरपोर्टबाट समेत घरेलु कामदारको रूपमा महिलाहरू खाडी मुलुकमा आएको देखिन्छ । यसरी घरेलु कामदारको रूपमा युएई भित्रिने महिलाको दर्दनाक व्यथा त एकातिर छँदैछ, उनीहरू दूतावासमा आइपुग्न र आइसकेपछि नेपाल फर्काउने प्रक्रिया अझ जटिल छ । शारीरिक र मानसिक रूपमा समेत विक्षिप्त बनिसकेपछि साहुको घर छाडेर भागेका महिलाहरूसँग कुनै कागजात नहुने र पासपोर्ट एवं भिसाविना कुनै पनि व्यक्तिको युएई बसाई अवैध हुने भएकोले सम्बन्धित महिला कामदारको तर्फबाट सम्बन्धित इमिरेटको पुलिस अफिसमा निवेदन दिनुपर्ने हुन्छ । महिला कामदार ल्याउँदा भिसा तथा टिकटबापत लागेको शुल्कसमेत सम्बन्धित दलाललाई स्वयम् रोजगारदाताले बुझाइसकेको परिस्थिति हुने र सो परिस्थितिमा रोजगारदाताले पैसा चोरेर भागेको वा अन्य गल्तीसमेत देखाई पुलिस कम्प्लेन गर्ने हुँदा सो कम्प्लेन लेबर कोर्टमा समेत जाने परिस्थिति सिर्जना हुन्छ । अर्थात् पुलिस क्लियरेन्सविना नेपाल फिर्ता पठाउने सम्भावना अन्त्य हुन्छ । त्यसैले दूतावासमा शरण लिन आएका महिलाहरू लामो समयसम्म राख्नुपर्ने अवस्था सिर्जना हुन्छ । पुलिस क्लियरेन्सपश्चात दूतावासबाट नेपाल फर्काउने प्रक्रिया पूरा गर्न सकिए तापनि उनीहरूको लागि टिकट काट्ने पैसा जुटाउन गाह्रो छ । यसरी आउने महिला कामदारले श्रम स्वीकृति नलिएको हुनाले वैदेशिक रोजगार कल्याणकारी कोषमार्फत उनीहरूलाई राहत उपलब्ध गराउन नसकिने र नेपाल सरकारको सो प्रयोजनमा खर्च गर्न सकिने अन्य कुनै स्रोत नभएकोले नेपालीसँगबाट सरसहयोग जुटाएर नेपाल पठाउनुपर्ने अवस्था रहन्छ । यस्तो दुष्चक्रबाट किन भित्रिन्छन् त खाडी मुलुकमा नेपाली महिलाहरू ? यसको खास कारण फिलिपिन्स, इन्डिया लगायतका मुलुकबाट खाडी मुलुकमा घरेलु महिला कामदार पठाउन प्रतिबन्ध छैन । सम्बन्धित मुलुकको सरकारले विशेष सुरक्षाका उपायहरू अपनाएको हुन्छ । उनीहरूको तलब बेसिक एक हजार दिरहामभन्दा कम गर्न पाइँदैन र उनीहरू युएई आउनासाथ दूतावासमा उनीहरूको मोबाइल फोन नम्बरसहित अन्य रेकर्डहरू राख्ने व्यवस्था छ, साथै रोजगारदाताले नियमित रूपमा दूतावासमा मोबाइल सम्पर्क गराइदिनुपर्ने हुन्छ । यी कारणले युएईमा ठूलो संख्यामा रहेका इन्डियन तथा अरबीहरूले कुनै कानुनी उपचार दिनु नपर्ने, सोझा, इमानदार र जति कम पैसा दिए पनि हुने नेपाली महिला कामदारहरूलाई काममा लगाउन चाहन्छन् भने अर्कोतिर महिला कामदार र रोजगारदाता दुवैतिरबाट मोटो रकम लिई मुलुकको खुला सिमाना, गरिबी, अज्ञानता र दण्डहीनताको फाइदा उठाई केही व्यक्तिहरूले यही कामलाई धन्दा बनाएको देखिन्छ । आफ्नो नागरिकहरूको यस्तो विडम्बनापूर्ण दशालाई राज्यले रोक लगाएको छ भनेर बेवास्ता गर्न मिल्दैन । सम्बन्धित मुलुकमा खटिएका श्रम सहचारीसहित दूतावासका अन्य कर्मचारी र नेपालप्रति आस्था हुने विदेशमा बस्ने नेपालीहरूसमेत यस कार्यमा खट्नुपरेको स्थिति छ । संसारभर खुला अर्थतन्त्र र विश्वव्यापीकरणलाई पछ्याइएको साथै नेपालले यी विषयप्रति प्रतिबद्धता जनाइसकेको तथा हरेक पक्षमा महिला-पुरुषको सहअस्तित्व र समविकासलाई हाम्रो संविधान एवं वर्तमान कानुनले स्वीकारिसकेको अवस्था छ । यसैगरी वैदेशिक रोजगारीबाट प्राप्त रकम मुलुकको अर्थतन्त्रको ठूलो हिस्सा रहेको कुरा कसैबाट छिप्न सक्दैन । वैदेशिक रोजगारीको उपयुक्त विकल्प दिन नसकिएको र रोक लगाउँदा पनि रोकिएको स्थिति नभएको यस परिप्रेक्ष्यमा महिलाहरूलाई वैदेशिक रोजगारीमा रोक लगाएर उम्कनुको सट्टा उनीहरूलाई व्यावसायिक रूपमा काम गर्ने सीप प्रदान गरी सम्बन्धित मुलुकको भाषा र कानुनी प्रावधानसम्बन्धी ज्ञात बनाउनु र सम्बन्धित मुलुकमा महिला कामदारका लागि विशेष सुरक्षाको नीति अवलम्बन गर्नु जरुरी देखिएको छ ।

लेखिका नेपाली राजदूतावास युएईमा श्रम सहचारी छन् ।

from:ekantipur.com

बिपीसँग महिना दिन मात्रै सँगै बसेँ

December 10, 2009
image

 

बालकृष्ण अधिकारी

विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत बिपी पालनिटोरियम बोर्डका अध्यक्ष तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाका माहिला छोरा हुन् श्रीहर्ष कोइराला । नेपालमा कम्प्युटर सफ्टवेयर सञ्चालन गर्ने पहिलो व्यक्ति पनि हुन् श्रीहर्ष । २००८ मा जन्मेका उनको राजनीतिमा सक्रियता छैन । दाइ प्रकाश र भाइ शशांक राजनीतिमै सक्रिय भए पनि उनी भने पालनिटोरियम बनाउन लागिपरेका छन् । त्रिविले दिएको झन्डै दुई सय रोपनी जग्गामा उनी ‘साइन्स म्युजियम’ बनाउन भनेर लागेका छन् । श्रीहर्षको प्रत्यक्ष अनुभूतिमा नेपालको राजनीति र बिपी उनकै शब्दमा हामीले पस्केका छौँ ।

बिपीको सिद्धान्तलाई प्रत्यक्ष रूपमा मैले पूरा गर्न सकेको छैन । अप्रत्यक्ष रूपमा उहाँको विचारलाई पूरा गर्न लागिपरेको छु । राजनीति सबैभन्दा राम्रो ‘सोसियल सर्भिस’ रहेछ । बिपीसँग राजनीतिज्ञमा हुनुपर्ने विचार थियो । त्यसैअनुसारको उचाइ र ‘आइडिया’ पनि थियो, त्यसैले उहाँ राजनीतिमा सफल हुनुभयो । राजनीतिमा होमिएकाजति सबै सफल हुन्छन् भन्ने छैन । म उहाँजस्तै त बन्न सक्दिनँ । तर, उहाँको छोरा भएको नाताले मैले उहाँबाट केही सिकेको छु ।

नेपालमा माइक्रो कम्प्युटरबारे कसैलाई थाहा थिएन । पहिलोपटक मैले सफ्टवेयर बनाएँ । त्यो अहिले पनि प्रयोगमा छ । बिपीले जस्तै मुलुकलाई ठूलो योगदान दिन नसके पनि राजनीतिबाट बाहिरै रहेर केही योगदान गरेको छु । उहाँका अगाडि भने यो ठूलो होइन । सबैले राजनीति नै गर्नुपर्छ भन्ने पनि छैन । कहिलेकाहीँ ‘राजनीति गरौँ’ जस्तो पनि लाग्छ । तर, दाइ, भाइ वा परिवारका अन्य सदस्य पदमा पुगेको वा उनीहरूको चर्चा भएकै कारण ‘राजनीति गरौँ’ भन्नेचाहिँ लागेन । राजनीति गर्दै गर्दिनँ भन्ने होइन । तर, मुलुकमा राजनीतिक संकट आयो भने म पनि राजनीतिमा आउन सक्छु । संकटलाई साथ दिनसके नेता बनिन्छ ।

मुलुकलाई बिपीभन्दा पनि ठूलो योगदान उहाँका पिताजी (कृष्णप्रसाद) को थियो । बिपीले पिताबाटै राजनीतिमा आउन प्रोत्साहन पाउनुभएको हो । राम्रो राजनीतिक संस्कार पाएकैले तीन छोरा बिपी, मातृका र गिरिजाप्रसाद नेपालको प्रधानमन्त्री बन्नुभयो । बिपीका विचारलाई आमजनतामाझ पुर्‍याउन सके राजनीतिमा ठूलो योगदान पुग्ने थियो । म राजनीतिमा सक्रिय छैन तर राजनीतिमा लागेका परिवारका अन्य सदस्यलाई निकै सहयोग गरिरहेको छु ।

**

हाम्रो परिवारबाट फेरि एकजना लेखक भइदिएको भए उसको पनि उत्तिकै महत्त्व हुन्थ्यो । म बिपीको छोरा भएर पनि राजनीति गरेन भन्ने सबैलाई लागेको छ । राजनीति नगरे पनि म फटाहा वा अपराधी त भएको छैन नि !

म राजनीतिमा नभए पनि ‘जागिरका लागि भनिदेऊ’ भन्न धेरै मान्छे आउँछन् । सरुवा-बढुवाका लागि पनि भनिदिनोस् भन्न आउँछन् । मैले भनेर के लाग्छ र ? चिनेको आधारमा कसैलाई भनिदिने हो भने ठूलो संघर्ष गरेर आएकाहरू पछि पर्छन् । पार्टीको कार्यकर्ता भएकै कारण सबैलाई जागिर दिनुपर्छ भन्ने छैन । म ‘गिरिजाबाबु वा शशांकलाई भेट’ भन्छु । गिरिजाबाबु र शशांकलाई नसोधी म केही पनि गर्दिनँ । कांगे्रसबाहेक अरू पार्टीका मान्छे पनि मलाई ‘कामका लागि भनिदिनोस्’ भन्न आउँछन् । तर, उनीहरूलाई सकेसम्म ‘आफ्नै पार्टीमा गएर भन’ भन्छु । उताबाट भएन भने मैले सक्ने काम गरिदिने गरेको छु ।

देशको राजनीति अत्यन्त जटिल बन्दै छ । बिपीको लाइनलाई आधार मानेर मूल्यांकन गर्ने हो भने परिवारका मात्र होइन कसैले पनि काम गरेका छैनन् । तर, गिरिजाबाबुले चाहिँ ठूलो योगदान गर्नुभएको हो । अब त गिरिजाबाबु वृद्ध हुनुभयो । उहाँपछि पार्टी र मुलुकलाई अभिभावकको ठूलो खडेरी लाग्ने संकेत मैले देखेको छु । पहिले राजा थिए, राजापछि मुलुकको अभिभावकको काम गिरिजाबाबुले गर्नुभएको थियो । उहाँ पछि को ? जनताले फेरि राजा चाहियो भन्ने अवस्था पनि नआउला भन्न सकिन्न ।

हुन त पार्टीमा सुशील दाको योगदान धेरै छ । तर, उहाँको योगदान मान्छेले बुझ्दै बुझ्दैनन् । उहाँ त तुलसी गिरीको मान्छे हो । उहाँको रुचि फोटो खिच्ने र हलिउडमा जान्छु भन्ने थियो । उहाँ स्मार्ट हुनुहुन्थ्यो । तर, त्यो सबै छोडेर राजनीतिमा लाग्नुभयो । उहाँले तुलसी गिरीको पार्टी पनि छोड्नुभयो र बिपीतिर लाग्नुभयो । अहिले पनि मन्त्री, प्रधानमन्त्री खानुहोस् भन्दा ‘मलाई पार्टीकै काम गर्न देऊ’ भन्नुहुन्छ । शैलजा दिदीको पनि ठूलो योगदान छ । उहाँ अहिले हुनुहुन्न । कांग्रेसमा कोइराला परिवारको धेरै योगदान छ । तर, हामीले भन्दा धेरै दुःख गर्नेहरू पनि छन् ।

गिरिजापछि सुशील दाले पार्टी चलाउन सक्नुहुन्न । शशांक धेरै सानो छ । शेखर दामा राम्राे खुवी होला, तर राजनीतिक विचार नहुनसक्छ । सुजाता त गिरिजाबाबुकी छोरी तर के गर्न सक्छिन् र ? तर म पनि कही गर्न सक्दिनँ । सुजातालाई उपप्रधानमन्त्री बनाएकोमा पार्टीभित्रैबाट विरोध भएको छ । गिरिजाबाबुका लागि पनि नराम्रो बनायो । तर, गिरिजाबाबुको दबाबमा उनलाई सो पदमा पुर्‍याइएको हो भन्ने मलाई लाग्दैन । गिरिजाबाबुकी छोरी भएकाले उसलाई मात्र अघि बढाउने भन्ने अहिलेसम्म छैन । गिरिजाबाबुले गरेको धेरै कुरा मलाई पनि चित्त बुझेको थिएन । मैले उहाँलाई गएर भनेको छु । मेरो -सुकेधारा) को घरमा उहाँ आउनुहुन्थ्यो । घरमा पारिवारिक, राजनीतिक मिटिङ हुन्थ्यो । पारिवारिक मिटिङमा म सहभागी हुन्थेँ । तर, राजनीतिकमा कहिल्यै बसिनँ । माओवादीसँग गिरिजाबाबुको पहिलोपटक मेरै घरमा मिटिङ भएको थियो ।

माओवादी जंगलमै भएको वेला नारायणकाजी श्रेष्ठ मेरो घर आउनुभएको थियो । सुरुमा आउँदा त चप्पल र फाटेकोजस्तो पुरानो लुगा लगाएर आउनुभएको थियो । मैले चिनेको पनि थिइनँ । उहाँले ‘म माओवादीको मान्छे’ भनेपछि मात्रै चिनेँ । मैले फोन गरेर बोलाएपछि महाराजगन्जमा बस्ने गिरिजाबाबु नारायणकाजीलाई भेट्न आउनुभयो । ५/७ दिनपछि उहाँहरूबीच फेरि भेट भयो । गिरिजाबाबुले भनेर नारायणकाजीलाई मैले एक/दुईपटक घरसम्म पुर्‍याइदिएको पनि छु । उहाँ पाटनमा बस्नुहुन्थ्यो । मैले गिरिजाबाबुसँग कि माओवादीलाई शान्तिप्रक्रियामा ल्याउनुपर्छ, होइन भने खत्तम बनाउनुपर्छ भनेको थिएँ ।

**

अाफ्ना लागि मात्र काम गर्ने बानी नेताहरूले छोड्नुपर्छ । नेताहरूले अहिलेको सोचमा परिवर्तन नगरेसम्म देशमा केही हुँदैन । दलहरूले आफूलाई परिवर्तन गर्नैपर्छ । नेताहरूले आफ्ना लागि पैसा कमाएका छन्, पद जोगाएका छन् ।

बिपी देश र जनताप्रति निकै गम्भीर हुनुहुन्थ्यो । एक दिन बिपी र ऋषिकेश शाहबीच कुनै विषयमा विवाद हुदा उहाँ (बिपी) ले रातभरि बसेर सोच्नुभएको थियो । उहाँ बिहान चार बजे उठेर पढ्नुहुन्थ्यो । म फिजिक्सको विद्यार्थी भएकाले त्यस विषयमा पनि निकै रुचि राखेर सोध्नुहुन्थ्यो । बिपी एउटै कुरालाई धेरै कोणबाट हेर्नुहुन्थ्यो । बिपीलाई भारत स्वतन्त्र नभएसम्म नेपालमा स्वतन्त्रता सम्भव छैन भन्ने लाग्थ्यो । अहिलेका नेताहरूमा दूरदृष्टि भेटेको छैन ।

**

जनमतसंग्रहको समयमा म भारतमा थिएँ । तर, १५ दिनअघि नै मैले नेपालमा बहुदल कति भोटले हार्दै छ भन्ने थाहा पाइसकेको थिएँ । भारतको इन्टेलिजेन्सको मान्छेले मलाई आएर भनेको थियो । निर्वाचनको परिणामलाई बिपीले स्वीकार गर्नुभयो । जनता आन्दोलन गर्न तयार थिए । तर, आन्दोलन गरेको भए ठूलो क्षति हुन्थ्यो । त्यसैले विरोध सहेर पनि निर्वाचनको परिणामलाई स्वीकार गर्नुभएको हो ।

लामो समय प्रवास (भारत) बसाइपछि पिताजी -बिपी) जब नेपाल आउनुभयो मलाई असाध्यै खुसी लागेको थियो । तर, जब उहाँ फेरि जेल पर्नुभयो म धेरै दुःखी भएको थिएँ । भारतमै बस्नुभएको भए बरु राजनीतिक मान्छेसँग भेटघाट गर्न पाउनुहुन्थ्यो होला । राजाले जनमतसंग्रह घोषणा गर्दा मलाई असाध्यै खुसी लाग्यो । पहिला दुःख नगरेको भए यो सुखको दिन सायदै आउँथ्यो । सरकार र पार्टीले गरेका निर्णयहरू कतिपय सुखद छन् भने कतिपय दुखद पनि ।

केटाकेटी अवस्थामा मैले जति सुख पाउनुपर्ने हो, त्यो पाइनँ भन्ने लागेको थियो । मलाई मेरो देश नेपाल हो भन्ने पनि जानकारी थिएन । मेरा साथी नयाँ लुगा लगाएर मेरोअघि आउँथे । म सधंै पुरानो लुगा मात्र लगाउँथेँ । हाम्रो आर्थिक स्थिति साह्रै कमजोर थियो ।

**

कांग्रेसले राम्रो काम गरिरहेको छैन । त्यसमा मलाई दुःख लाग्छ । तर, सबै पार्टी उस्तै छन् । नराम्रामध्ये राम्रो खोज्ने हो भने कांग्रेस नै सबैभन्दा राम्रो छ । प्रजातन्त्र ल्याउनका लागि कांग्रेसले ठूलो मूल्य चुकाएको छ । अहिले त प्रजातन्त्र छ । हाम्रा लागि सबैभन्दा सुखद कुरा यही हो ।

दलहरूमाथि प्रतिबन्ध भएको वेला म भारतबाट विराटनगर आउने क्रममा एक दिन जेल परेको छु । त्यो पनि घर र्फकंदा मेरो ब्यागमा एउटा म्यागजिन भएको कारण । म त विद्यार्थी थिएँ । बनारसबाट घर फर्केको त्यसवेला नेपालमा भएको आन्दोलनको विषयमा लेखिएको पत्रिका लिएर आएको भनेरै मलाई एक रात जेल राखेका हुन् ।

बिपीको छोरा भएकै कारण मैले धेरै कुरा पाएको पनि छु र गुमाएको पनि । बिपी नेपाल आउनुभएपछि जेल पर्नुभयो । त्यसवेला मैले अमेरिका गएर पिएचडी गर्छु भनेँ । मैले अप्लाई गरेँ र अमेरिकाले मलाई सेलेक्सन गर्‍यो । तर, बिपीकै छोरा भएका कारण तत्कालीन सरकारले मलाई राहदानी दिएन । अनेक झन्झटले म अमेरिका जान पाइनँ ।

अमेरिका जान नपाएपछि नेपालमै केही गरौँ भन्दा पनि सरकारले धेरै बाधा पुर्‍यायो । त्यसवेला टिचिङ हस्पिटलमा नवीनजंग शाह प्रमुख थिए र पशुपतिशमशेर शिक्षामन्त्री । त्यहाँ फिजिक्स टिचर चाहिएको थियो । सरकारले सूचना निकालेर टिचर माग गर्‍यो । मैले निवेदन दिएँ । मेरोबाहेक नेपालभरिबाट कसैको पनि आवेदन परेन । तर, बिपीकै छोरा भएकोले मैले त्यहाँ पनि जागिर पाइनँ । त्यसवेला मैले तत्कालीन शिक्षामन्त्री पशुपतिजीसँग झगडा पनि गरेँ । त्यसपछि तत्कालीन सरकारले मलाई ‘टेम्पोररी’ जागिर दियो । एक वर्ष पढाएँ । त्यसपछि मलाई भारत गएर पिएचडी गरौँ जस्तो लाग्यो र छोडिदिएँ ।

**

म बिस्तारै कम्प्युटर सिक्न थालेँ । त्यसको दुई वर्षमै नेपालमा कम्प्युटर स्कुल चलाउन थालेँ । दुःख त भयो तर बिपीले गरेको संघर्षले मलाई इन्करेज गर्‍यो । घरमा अहिले पनि म छोराछोरीलाई ‘तिमीहरूलाई दुःख भयो भने बिपीले गरेको संघर्षलाई पढ’ भन्ने गरेको छु । राजनीतिमा सुखदुःख हुन्छ । म बिपीजस्तो हुन नसकेकोमा साह्रै दुःख लागेको छ । बिपीको संघर्ष लामो थियो । उहाँ (बिपी) सँग पैसा पनि थिएन । मसँग अहिले पैसाको त दुःख छैन । तर, पिताजी -बिपी) सँग जीवनभरिमा जम्मा एक महिना पनि सँगै बस्न पाइनँ । बाबुछोराजस्तो गरेर कहिल्यै बस्नै पाइनँ । उहाँ (बिपी) ले हरेक समय जेलमा बिताउनुभयो ।

धेरैले बिपीको छोरा किन राजनीति गर्दैन ? भन्छन् । धु्रवचन्द्र गौतमले मलाई लेख्ने काम गर्नुस् भन्नुभएको छ । मेरा लागि सबैभन्दा ठूलो दोष पनि बिपी नै हुनुभएको छ । उहाँले जस्तो मैले केही गर्न सकिनँ । मैले गरेका काम सबै छायामा परेका छन् ।

प्रकाश दा, म र शशांकले आ-आफ्नो ठाउँबाट काम गरिरहेका छौँ । तर, बिपीको छोरा प्रकाशले किन राजनीतिमा राम्रो गर्न सकेन ? शशांक डक्टरी गरिरहेको थियो त्यो पनि छोडेर राजनीति थाल्यो । तर, बिपीजस्तो पनि हुन सकेन ।

के कारण हो, प्रकाश दा राजाको शासनमा मन्त्री बन्नुभयो । उहाँ आफ्नो फरक मत कसैलाई पनि भन्नुहुन्न । राजाको सरकारमा सहभागी भएपछि कांग्रेसले उहाँलाई कारबाही गरेको छ । प्रजातन्त्रका लागि जीवनभरि पिताजी लड्नुभयो । तर, प्रकाश दाले जे गर्नुभयो त्यो राम्रो गर्नुभएन । यसले प्रजातन्त्र र सिंगो कांग्रेसलाई ठूलो क्षति पुगेको छ ।

कोइराला परिवार राजनीतिमा आउनुमा हजुरबुबा कृष्णप्रसाद र पिता बिपीको ठूलो योगदान छ । राणा शासनको वेला आइमाईले घोडा चढ्ने, पौडी खेल्ने चलन थिएन । यो राणाहरूले मात्र गर्ने हो भन्ने थियो । तर, हजुरबुबा (कृष्णप्रसाद) ले परिवारका सबैलाई घोडा चढाउने, पौडी खेलाउन पनि लैजाने गर्नुहुन्थ्यो । त्यसवेला पनि हामी अंग्रेजी बोल्थ्यौँ, स्विमिङ, घोडचढी सबै गर्थ्यौं । त्यसैले त्यसवेला कोइराला परिवारलाई सबैले राणाभन्दा कम छैन भन्थे ।

bkadhikari16@yahoo.com

from:nayapatrika.com

बौद्धिक बेइमानी

December 9, 2009

रवीन्द्र मिश्र

काठमाडौ, २०६६ मंसिर २३ - होटल व्यवसायी कर्ण शाक्य मैले असाध्यै श्रद्धा गर्ने एकजना नेपाली हुन् । मैले बेलाबखत आफ्ना लेख तथा मित्रहरू बीचको कुराकानीमा उनको धेरै प्रशंसा गरेको छु । साथै उनी स्वयम्सँग पनि आफ्नो श्रद्धाभाव व्यक्त गरेको छु । उनको पछिल्लो कृति ‘म सक्छु’ पढ्ने सोच बनाइरहेकै बेला नेपाल साप्ताहिकको हालैको अंक (१४ मंसिर) मा रमण घिमिरेले लेखकको उक्त पुस्तकको समीक्षा पढ्ने मौका मिल्यो । समीक्षामा घिमिरेले शाक्यको कृतिको प्रशंसा गरेका छन्, तर लेखकका रूपमा उनमा हुनुपर्ने इमानदारी र उदारताको अभावका केही ठोस प्रसंग उल्लेख गरेका छन् । शाक्यको मुक्त प्रशंसक भए पनि उनको बहुचर्चित ‘सोच’ पुस्तक पढेपछि मलाई पनि ठ्याक्कै घिमिरेलाई जस्तै महसुस भएको थियो र त्यतिबेलै केही लेखौं-लेखौं लागिसकेको थियो । तर ‘म सक्छु’ को समीक्षा पढेपछि, त्यसले केही महिना अगाडि मैले श्रद्धा गर्ने अर्का एकजना नेपाली, युवा नेता गगन थापाले एउटा अन्तर्वार्तामा गुमाएको इमानदारी र उदारताको प्रसंग पनि याद आयो । हामीकहाँ बौद्धिक बेइमानी अलि गम्भीर समस्या भएकोले यी दुवै प्रसंगबारे एकपल्ट चर्चा गर्न यस पंक्तिकारले उपयुक्त सम्भिmएको छ र यसको अन्यथा अर्थ लाग्ने छैन भन्ने आशा लिएको छु । डा. नर्म भिनसेन्ट पिलले लेखेको एउटा पुस्तक छ, द पावर अफ पोजेटिभ थिङ्कङि -सकारात्मक सोचको शक्ति) । कर्ण शाक्यले जीवनमा सो पुस्तकबाट ठूलो प्रेरणा लिएका छन् र उनले आफ्नो ‘सोच’ पुस्तकको पहिलो परिच्छेदको शीर्षक पनि त्यही दिएका छन् । उनले त बिर्सिसके होलान्, तर मलाई सन् १९९८ को नेपाल भ्रमण वर्षपछि उनीसँग होटल अम्ब्यासडरमा भएको एउटा भेटमा सो पुस्तकबारे धेरै चर्चा गर्दै जीवनमा सकारात्मक सोचको शक्तिको महत्त्वबारे व्याख्या गरेका थिए । त्यसैक्रममा आफ्नी छोरी र पहिली श्रीमतीको क्यान्सरबाट भएको मृत्युको पीडालाई उनले कसरी सकारात्मक सोचको सहायताले रचनात्मक कार्यमा परिणत गरे भन्नेबारे पनि मलाई बताएका थिए । ‘सोच’ पुस्तकको प्रकाशनपछि, शाक्यले विभिन्न शैक्षिक संस्थाहरू लगायत धेरै ठाउँमा सकारात्मक सोचको शक्तिका बारे भाषणहरू दिए । ती भाषणहरूमा उनले आफूलाई सकारात्मक सोचका लागि ठूलो प्रेरणा दिने द पावर अफ पोजेटिभ थिङ्कङिका बारे उल्लेख गरेका छन् या छैनन्, मलाई थाहा भएन । तर उनले बहुचर्चित ‘सोच’ पुस्तकमा भने ‘सकारात्मक सोचको शक्ति’ शीर्षकै खण्डमा समेत सो पुस्तकका बारे उल्लेख गरेका छैनन् । त्यतिमात्र होइन, केही समयअघि निर्मित लोकपि्रय ‘मेरो जिन्दगी, मेरो विश्वास’ टेलिभिजन शृङखलामा पनि उनले सकारात्मक सोचको खुब चर्चा गरे, तर सो पुस्तकबारे उल्लेख गरेनन् । त्यो उनीजस्ता आदर्श व्यक्तिबाट हुनै नहुने बेइमानी हो । त्यो पूर्ण नकारात्मक सोचको परिचायक थियो । आफूलाई ठूलो बनाउन अरूले दिएको प्रेरणा र योगदानलाई लुकाउनु पर्दैन । त्यसैगरी नेपाली कांग्रेसका युवा नेता गगन थापा दुर्गन्धित राजनीतिक वातावरणको बीचमा एकजना आसलाग्दा राजनीतिज्ञका रूपमा उदाएका छन् । उनी विचारमा प्रस्ट छन् र आदर्शलाई व्यवहारमा उतार्न प्रयास पनि गर्छन् । उनीबाट भविष्यमा नेपाली समाजले धेरै आशा गर्न सक्छ, त्यसैले उनी इमानदारीबाट चुक्नथाले भने खबरदारी गर्न हामी सबैको कर्तव्य हो । गत असारको पहिलो हप्तातिरको कुरा हो, टेलिभिजनको च्यानल बदल्दा-बदल्दै मेरो आँखा इमेज च्यानलमा एक समयका मेरा सहपाठी विजय लामाले लिइराखेको थापाको अन्तर्वार्तामा पर्न गयो र म त्यहीं रोकिएँ । अन्तर्वार्तामा थापा आफूले दुर्गम जिल्लाकी एकजना केटीलाई पढाइका लागि गरिरहेको सहयोगका बारेमा बताउँदै थिए । कल्याणकारी कार्यको प्रवर्द्धन आफ्नो चासोको विषय भएकोले थापाले विगतमा बेलाबखत गरेका कल्याणका कामहरूलाई मैले उल्लेख्य उदाहरण सम्झने गरेको थिएँ । उनले एकजना असहायलाई नियमित रूपमा सहयोग गर्ने गरेको सुनेर म झनै खुसी भएँ । तर सो सहयोगको कुरा गरेलगत्तै थापाले जे भने त्यसबाट म स्तब्ध भएँ । उनले लगभग यसो भने, ‘यसैगरी हरेक सक्षम नेपालीले एक-एकजना बालबालिकालाई मात्र पढाउने हो भने हामीलाई शिक्षाका लागि काम गर्न गैरसरकारी संस्थाहरूको आवश्यकता पर्दैन । यसलाई मैले भाइबहिनी अभियानको नाम दिएको छु ।’ गगन थापालाई राम्रोसँग थाहा छ, ‘भाइबहिनी अभियान, ँनेपालको लागि नेपालीले गरौं’ भन्ने नारा बोकेको कल्याणकारी सञ्जाल, हेल्प नेपाल नेटवर्कले आजभन्दा झन्डै चार वर्षअघि सुरू गरेको अभियान हो । त्यसबारेमा थापालाई एउटा भिन्नै प्रसंगमा हेल्प नेपालकै चावहिलस्थित कार्यालयमा संस्थाका अध्यक्ष अरुणसिंह बस्नेतले जानकारी गराएका थिए । सो अभियान अन्तर्गत नेटवर्कका १५ जना शुभेच्छुकहरूले दुई वर्षसम्म १५ जना बालबालिकालाई सहयोग पनि गरे, तर प्राविधिक कठिनाइ उत्पन्न भएपछि हाल सो अभियान स्थगित गरिएको छ । थापा नेटवर्कका अन्य गतिविधिसँग पनि अपरिचित छैनन् । उनले हामीबीच भएका एकाध भेटघाटमा नेटवर्कले गरेका कामको प्रशंसा गर्ने गरेका छन् । तर सार्वजनिक अन्तर्वार्तामा अरूले दिएको नाम र कामलाई उनले ठाडै आफ्नो भनेर प्रस्तुत गरे । आदर्शको अगुवाइ गर्न खोज्ने एकजना उदीयमान युवा नेताका लागि त्यो पूर्णतः अशोभनीय कार्य थियो । वैचारिक चोरी सधैंको एउटा ठूलो समस्या हो । साहित्यमा हुने त्यस्तै चोरीका बारे गत मंसिर १३ गतेको कान्तिपुरमा मेदिनीप्रसाद शर्माको राम्रो लेख छ । सो लेख रामेछापका एकजना कवि भनिएका पिता र पत्रकार भनिएका छोराको बारेमा भए पनि त्यसमा प्रसिद्ध साहित्यकार शंकर लामिछानेदेखि रमेश विकलसम्मका बौद्धिक बेइमानीका प्रसंगहरूको चर्चा गरिएको छ । त्यस्तो चोरी नेपालको प्राज्ञिक क्षेत्रमा पनि पर्याप्त भएको मेरा प्राज्ञ मित्रहरू बताउँछन् । तर म आफू प्राज्ञ नभएकोले त्यसबारे धेरै जानकारी हुने कुरा भएन । त्यसका बारे प्राज्ञहरूले नै छलफल गर्न राम्रो हुनेछ । आफू पत्रकार भएकोले केचाहिँ याद गरेको छु भने कुनै-कुनै सञ्चारमाध्यमहरूले कहिलकाहीं अन्य सञ्चारमाध्यबाट टिपेको खबरलाई आफ्नैजसरी प्रस्तुत गरिरहेका हुन्छन् । अरूबाट समाचार त्यसरी साभार गरेपछि त्यसलाई उल्लेख गर्नैपर्छ । पश्चिमी देशहरूमा हो भने त्यस्ता चोरीलाई अपराध मानिन्छ । त्यस्तो आरोप लागेको विद्यार्थी, प्राध्यापक या संस्थाले छानबिन टोलीसमक्ष उपस्थित भएर स्पष्टीकरण दिनुपर्ने हुन्छ । लोकपि्रय इन्टरनेट साइट फेसबुकका संस्थापक मार्कजुकवर्गे सो साइटको सोच अरूबाट चोरेको आरोप लागेपछि वर्षौंसम्म मुद्दा खेपेका थिए । पछि उनले झन्डै पचास करोड रुपैयाँ तिरेर सो विवादलाई टुङ्गयाए । धेरै मानिसहरूलाई आफूलाई घत परेको, काहीं सुनेको या काहीं पढेको विचारलाई अरूबाट प्रशंसित हुनका लागि आफ्नैजसरी प्रस्तुत गर्न ठूलो लालसा हुन्छ । तर खासगरी स्थापित परिचय भएका व्यक्तिहरूका लागि त्यो अत्यन्त खतरनाक लालसा हो, जसले धेरै मुस्किलले निर्माण गरेको विश्वसनीयता र हासिल गरेको श्रद्धालाई भङ्ग गरिदिन सक्छ । जसले त्यस्तो काम गर्छ, तिनले के बुझ्नुपर्छ भने अरूले गरेको कामबाट मैले सिकेँ या प्रेरणा लिएँ भन्दा मान्छे ठूलो मानिन्छ, सानो होइन । कर्ण शाक्यले आफ्नो पुस्तकमा या सकारात्मक सोचलाई प्रबर्धन गर्न आफ्ना भाषणहरूमा द पावर अफ पोजेटिभ थिङ्कङिका बारे उल्लेख गरेका भए, पढ्ने र सुन्नेहरूले पनि ओहो, यस्तो पो गर्नपर्ने रहेछ, कस्तो उदार र इमानदार मान्छे भन्ठान्ने थिए होलान् । त्यसैगरी गगन थापाले हेल्प नेपाल नेटवर्क भन्ने एउटा कल्याणकारी संस्थाले भाइबहिनी अभियान चलाएको रहेछ, त्यसको बारेमा थाहा पाएपछि मलाई पनि ठूलो प्रेरणा मिल्यो भनेको भए थापाको इज्जत घट्ने होइन, अझ बढ्ने थियो । अनि एउटा पत्रिका, रेडियो या टेलिभिजनको समाचार टिपेर आफ्नैजसरी प्रस्तुत गर्न स्थापित समाचार संस्थाका सम्पादकहरूले भावि पुस्ताले त्यस्तो अभ्यासबाट के सिक्लान् भनेर एकपल्ट सोचिदिए राम्रो हुने थियो । त्यसमा पनि चोरीका बारे समाचार लेख्ने र आलोचना गर्ने पेसा बोकेका पत्रकारले आफैं चोर काम गर्न युक्तिसंगत हुनै सक्दैन । यति भनिसकेपछि मैले आफ्नो एउटा पुरानो स्तम्भमा चर्चा गरिसकेको ‘मेरो जिन्दगी, मेरो विश्वास’ पुस्तकको परिचय खण्डका बारेमा अलिकति उल्लेख गर्न उपयुक्त हुनेछ । एन्टेना फाउन्डेसन र खासगरी त्यसका निर्देशक मधु आचार्यले ‘मेरो जिन्दगी, मेरो विश्वास’ कार्यक्रमलाई कर्ण शाक्य र गगन थापाको सिको गर्दा आफ्नै मौलिक सोचको रूपमा प्रस्तुत गरेका भए पनि त्यसको वास्तविकताबारे धेरै कम नेपालीले मात्र थाहा पाउने थिए । तर सो पुस्तकको परिचयमा आचार्यले अत्यन्त इमानदारीपूर्वक अमेरिकाको प्रख्यात नेसनल पब्लिक रेडियोमा प्रसारित हुने ‘दिस, आई बिलिभ’ कार्यक्रमबाट मेरो जिन्दगी, मेरो विश्वास प्रेरित भएको र सो शृङखला त्यसैको नेपाली संस्करण भएको बताएका छन् । त्यस्तो इमानदारीबाट हामी सबैले सिक्दा निश्चय पनि त्यसले सकारात्मक सोचमात्र होइन, व्यक्तिको इमानदारी र विश्वसनीयतालाई पनि बढाइदिनेछ । भौतिक भए पनि, बौद्धिक भए पनि, चोरी आखिर चोरी हो । चोरको पगरी कसैका लागि पनि शोभायमान हुनै सक्दैन । rabindra.helpnepal@gmail.com

from:ekantipur.com

केएफसी, पिजा हट र जंक फुड

December 8, 2009

डा. गोविन्दबहादुर थापा केन्टकी प|mाइड चिकेन (केएफसी) प्रसिद्ध अमेरिकी फास्टफुड कम्पनी हो । यो रेस्टुराँ विश्वमा महामन्दी सुरु भएपछि सन् १९३० बाट अमेरिकाको इन्डियानाका हल्र्यान्ड स्यान्डर्सले थालेका थिए । यो १९६६ मा केन्टकी प|mाइड चिकेन कर्पोरेसनका नाममा पब्लिक लिमिटेड कम्पनीमा फेरियो । १९६९ मा यही नामबाट न्युयोर्क स्टक एक्स्चेन्जमा सूचीकृत भयो । अमेरिकी बहुराष्ट्रिय कम्पनीका रूपमा यस कम्पनीका रेस्टुराँ ८० मुलुकमा फैलिएका छन् । यस कम्पनीलेे प्रतिवर्ष विश्वभरि दुई अर्ब ७० करोड कुखुरा काट्ने गरेको अनुमान छ । यस कम्पनीको वाषिर्क बिक्री लगभग दुई अर्ब अमेरिकी डलर हुन्छ । पिजा हट पनि अमेरिकी फास्टफुड कम्पनी नै हो । यो कम्पनी सन् १९५८ देखि फास्टफुड बिक्री गर्ने व्यवसायमा छ । विश्वव्यापार संगठनको सदस्य भएकाले काठमाडौंमा पहिलोपटक यी रेस्टुराँ खुले । यो तात्तातो समाचार नै बन्यो, जुन पटक्कै अस्वाभाविक होइन । किनभने, यस्ता रेस्टुराँ खोलिनुलाई कुनै मुलुकले आधुनिकीकरण, विकास र खुलापनमा कोसेढुंगा पार गरेको मानिन्छ । आफूले कायम राख्दै आएको अन्तर्राष्ट्रिय गुणस्तर दीर्घकालीन रूपमा कायम राख्न सकिने प्रत्याभूति भएको सहरमा मात्र यी रेस्टुराँ खुल्छन् । नेपालमा अर्को अमेरिकी फास्टफुड रेस्टुरेन्ट म्याकडोनाल्ड आउन बाँकी नै छ । केही समयपछि त्यो पनि निश्चित रूपमै आउला । यसरी राजधानी काठमाडौं र त्यसकोे पनि मुटु मानिने दरबारमार्गमा दुईवटा अमेरिकी बहुराष्ट्रिय फास्टफुड रेस्टुराँ नितान्त नयाँ स्वाद र शैली लिएर प्रवेश गरे, अब केही समयसम्म ती रेस्टुराँमा खुट्टा राख्ने ठाउँ हुनेछैन । त्यहाँ विशेषतः ‘टिन एजरहरू’ थुपि्रनेछन् । प्रौढहरूले भाइभतिजामार्फत घरमै ल्याई त्यसका परिकार खानेछन् । यसरी यी रेस्टुराँ र यिनका खानाको स्वादका बारेमा काठमाडौंमा केही समय घरघरमा चर्चा हुनेछ । यी रेस्टुराँ काठमाडौंमा खोलिँदा यी ब्रान्डका खाना खान अभ्यस्त काठमाडौंस्थित अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिहरू हषिर्त भए होलान् । त्यसैगरी बैठक, सम्मेलन, भ्रमणदल र पर्यटकका रूपमा नेपाल आउनेहरू, विशेषतः पश्चिमेलीहरू पनि प्रसन्न भए होलान् । राजधानीका मध्यमवर्ग र त्यसभन्दा माथिल्लो वर्गका टिनएजरहरू विशेष रोमाञ्चित नै भए होलान् । किनभने, यस्ता रेस्टुराँबारे धेरथोर जानकारी भएका मानिस काठमाडौंमा थुप्रै भएको अनुमान गर्न सकिन्छ । र, आफ्नो मुलुकमा यस्ता रेस्टुराँ कहिले आउने हुन् भनेर तीमध्ये कतिले प्रतीक्षा पनि गरिरहेका हुन सक्छन् । यसरी सुरुका महिनामा यी रेस्टुराँमा लाग्ने भीडबाट उत्साहित भएर यस्तै अरू केही रेस्टुराँ काठमाडौंका विभिन्न ठाउँमा खुल्नेछन् । जहाँसम्म काठमाडौंमा पहिलेदेखि आफ्नो ठाउँ बनाएर बसेका रैथाने रेस्टुराँमा यी फास्टफुड रेस्टुराँबाट पर्नसक्ने असरको प्रश्न छ, यो पक्कै विचारणीय छ । तर, नेपाली रेस्टुराँ र अमेरिकी रेस्टुराँबीच स्वादको ठूलो अन्तर भेटिन्छ । त्यही अन्तरका आधारमा रैथाने रेस्टुराँमा यी नयाँ रेस्टुराँको खासै असर नपर्ने अनुमान गर्न सकिन्छ । रैथाने रेस्टुराँका उपभोक्ता टाठो, पीरो, ट्वाक्कटुक्क हुने छ्वय्ला, कचिला, ममः, बारा, चताँमरी, लसुन, अदुवा, गोल्भेडाको अचार, सुकुटी, सेकुवा, भटमास, च्युराजस्ता परिकारमा अभ्यस्त छन् । यी स्थानीय परिकार निश्चितै रूपमा अत्यन्तै स्वादिष्ट र जिब्रोमा गढ्ने खालका छन् । यिनका उपभोक्ता नयाँ रेस्टुराँमा जानेछैनन्, जहाँ लाइनमा बसेर लिनुपर्ने र आदेश गरेर मगाउन नसकिने -सेल्फ सर्भिस) पद्धति छ । यस्तो पद्धतिका कारण पनि प्रौढ उपभोक्ता यी नयाँ रेस्टुराँका नियमित ग्राहक हुनेछैनन् । पछिल्लो समयमा एसियाली मुलुकमा यी रेस्टुराँको लोकपि्रयता बढाउन वा सरकारले राखेका सर्त पूरा गर्न सम्बन्धित मुलुकको विशेष स्वादका कुनै एक परिकार यी रेस्टुराँका आफ्ना परिकारमा मिसाएर वा थपेर बिक्री गर्ने परम्परा बसेको छ । यस्तो परम्परा भारतका विभिन्न राज्यमा व्यापक रूपमा छ । फिलिपिन्समा पनि यी रेस्टुराँमा एकपाउजति भातको डल्लो कागजमा बेरेर यी रेस्टुराँका खानासँगै बिक्री गर्ने परम्परा छ । केही समयपछि नेपाली जिब्रोले पनि त्यसको माग गर्नेछ । किनभने, ती रेस्टुराँका खानाको स्वाद लाटो र सधैँ एउटै खालको हुन्छ । त्यसैले टाठो र तिक्खर स्वाद खोज्ने नेपाली जिब्राले नेपाली स्वाद दिने कुनै एक परिकार निश्चितै रूपमा खोज्नेछ । यी रेस्टुराँबाट निश्चितै रूपमा रोजगारीका केही थप अवसर सिर्जना हुनेछन् । यसका साथै केही आर्थिक क्रियाकलाप प्नि थपिनेछन् । यो सकारात्मक कुरा हो । तर, यी रेस्टुराँको खास परिकारका लागि आवश्यक हुने कुखुराको मासु भने स्थानीय बजारबाट खरिद नगरी ब्राजिलबाट आयात गरिने खबरले सकारात्मक सन्देश दिएको छैन । विश्वमा ३५ हजारभन्दा बढी रेस्टुराँ सञ्चालन गरेको कम्पनीले आफ्नो विश्वव्यापी साख जोगाउन गुणस्तरमा विशेष जोड दिनु अस्वाभाविक होइन । तर, यसो भनेर नेपालजस्तो अति कम विकसित र गरिब मुलुकमा आएर पनि त्यस्ता कम्पनीले दिनेभन्दा लिनेमा मात्रै जोड दिनुलाई सकारात्मक मान्न सकिँदैन । नेपाली कुखुरापालकले पनि मापदण्डअनुसारका स्वस्थ कुखुरा पाल्नेतर्फ जोड दिई यी रेस्टुराँबाट अधिकतम फाइदा लिन सक्नुपर्छ । पक्कै पनि यी रेस्टुराँका खाना ताजा र तत्काल पाइने त हुन्छन् नै । यही नै यी रेस्टुराँका आकर्षण र विशेषता पनि हुन् । तर, यी रेस्टुराँका उपभोक्ताहरू विशेष रूपमा सतर्क हुनुपर्ने विषय पनि छ । त्यो के भने यी परिकारलाई अमेरिकातिर ‘जंक फुड’ भन्न थालिएको छ । र, यी परिकार लामो समयसम्म नियमित रूपमा उपभोग गर्दा उपभोक्ताहरू अस्वाभाविक रूपमा शरीर सम्हाल्नै कठिन हुने गरी मोटाउँछन् । अमेरिकामा यस्ता मोटेहरू निकै बाक्लो मात्रामा भेटिन्छन् । र, १५ वर्षको अन्तरालमा फिलिपिन्समा पनि यस्ता मोटेहरूको संख्या बाक्लै देखिएको छ । यो अत्यन्त अस्वस्थकर असर हो । यी परिकारको अधिक उपभोगबाट आममानिस, त्यसमा पनि विशेषतः युवामा यस्तो असर देखापर्छ । अतः नेपाली युवाहरू यस रोगबाट जोगिन अहिलेदेखि नै सतर्क हुनुपर्छ । from :nayapatrika.com