गृहमन्त्री र पूर्व राजाबीच भेट
June 2, 2008संविधानसभाको पहिलो बैठकबाट गणतन्त्र कार्यान्वयन गरिएको पाँच दिनपछि गृहमन्त्री कृष्णप्रसाद सिटौलाले पूर्व राजालाई दरबारमै भेट गरेका थिए।
भेटपछि बीबीसी नेपाली सेवासंग कुरा गर्दै मन्त्री सिटौलाले, सरकारले दिएको १५ दिनको म्यादभित्रै आफु दरबार छाड्न तयार रहेको पूर्व राजाले वताएका जानकारी दिए।
सहज
"आज मैले राजालाई नागरिकका रुपमा पाएँ। संविधानसभाको निर्णयलाई सहज ढंगले लिएको उनले वताए," सिटौलाले भने।
गणतन्त्र कार्यान्वयन सम्बन्धमा सरकारले दरबारको सुरक्षा र सम्पत्ति अभिलेखिकरण जस्ता कार्य सम्पादन गर्न गठन गरेको टोलीको नेतृत्व गर्दै आज मन्त्री सिटौला दरबार पुगेका थिए।
संविधानसभाले तोकिदिएको १५ दिनको समयसीमा भित्रै सरकारसंगको समन्वयमा दरबार छाड्ने जानकारी उनले दिएको सिटौलाले उल्लेख गरे।
दरबार छाडेर जाने अर्को निवासको टुंगो लागि नसकेको जानकारी दिंदै पूर्व राजाले त्यसबारे सरकारले सम्वेदनशील भएर सोचिदिन आग्रह गरेको सिटौलाको भनाइ थियो।
खण्डन
साथै पूर्व राजाले दरबारका कागजात नष्ट गरिएको जस्ता समाचारहरुको खण्डन गर्दै त्यसप्रति दुख जनाएको पनि सिटौलाले वताए।
दरबारका एक उच्च सुत्रले बीबीसीलाई दिएको जानकारी अनुसार मन्त्री सिटौलासंगको भेटमा पूर्व राजाले आफु शान्तिको पक्षमा रहेको तर आन्दोलन या क्रान्ति जे भनेपनि त्यसका क्रममा आफुमाथि लगाइएको आरोपमा भने कुनै सत्यता नरहेकोमा जोड दिएका थिए।
सुत्रले जनाए अनुसार पूर्व राजा आफुमाथि लगाइएको आरोपका सम्बन्धमा सार्वजनिक रुपमै बोल्ने पक्षमा छन्।
भेटका क्रममा पूर्व राजाले आफ्नी आमा रत्नको चाहना अनुरुप नारायणहिटि परिसरभित्रको निजि निवास, महेन्द्र मञ्जिलमा, उनलाई बाँकी जीवन विताउन दिन सरकारसंग अनुरोध गरेको पनि सो सुत्रले वताएको छ। बि.बि.सी नेपाली बाट