दरबारबाट दरबारतिरै ज्ञानेन्द्र शाह

June 6, 2008

खगेन्द्र संग्रौला

 

 

शनैःशनैः सतहमा उत्रेझैँ लाग्ने प्रतिक्रान्तिको कुरूप परिदृश्य ‘राजा गए, राजा रहे’ भनेजस्तो प्रतीत हुन्छ । नेपाल सरकारले राजाबाट नागरिक भए भनिएका ज्ञानेन्द्र शाहको सवारी तामझामका साथ नागार्जुन दरबारतिर चलाउने निर्णय गरेको छ । हाललाई अस्थायी व्यवस्था भनेर उनलाई १७ रोपनीको पटांगिनीसहितको नागार्जुन दरबार दान गरिएको छ । कालान्तरमा गरिने स्थायी व्यवस्थाभित्र ज्ञानेन्द्र शाहलाई पुनः नारानहिटी दरबार फर्काउने ग्य्रान्डडिजाइन लुकेको हुनसक्छ । यस नाटकको नेपथ्यमा गरिएको रिहर्सलको कथा कल्पना गरौँ । औँसीको मध्यरातमा सेना नायक रुक्मांगद कटवालको मध्यस्थतामा गिरिजाप्रसाद कोइराला र ज्ञानेन्द्र शाहबीच सुमधुर वगैमैत्रीका साथ गोप्य सहमति भयो होला । अनि भाँती पारेर सहमति सार्वजनिक गर्न नौनीमय वचनका धनी गृहमन्त्री कृष्णप्रसाद सिटौला खटाइए । वचनमा कुटिल विनम्रता लेपन गरेर ज्ञानेन्द्र शाहले गहभरि आँसु लिएर हात पसार्दै सिटौलासँग आवासको याचना गरे । याचनाप्रति सिटौला संवेदनशील भए । शान्तिमन्त्री रामचन्द्र पौडेलले भिखारी ज्ञानेन्द्रको याचना उचित ठाने । अनि नेपाल सरकारले हतार-हतार बडो नाटकीयरूपले सभक्ति नागार्जुन दरबारतिर ज्ञानेन्द्र शाहको सवारी चलाउने निर्णय गर्‍यो । पहिले कांग्रेस एमालेलाई छक्याएर थाङ्नामा सुताउँथ्यो, यसपाला माओवादीलाई सुतायो । वैचारिक स्वत्व र पहिचानको निजत्वबाट च्यूत भएको एमाले त थाङ्नामा सुताइन पनि लायक रहेन । पार्टीलाई आत्मिक नेतृत्व दिन महासचिवमा भर्ती गरिएका झलनाथ खनाल लगभग गोविन्दराज जोशीकै भाकामा ‘अघि बढ गिरिजाबाबु, ज्यान दिन तयार छौँ’ भनेजस्तो भाव प्रकट गर्दैछन्, र सकल एमालेगण मकैबारीको बुख्याँचाझैँ नवमहासचिवको दिव्य वाणीमा उग्र समर्थन जनाइरहेको छ । माओवादीविरुद्ध छेडिएको जेहादको क्रममा एमाले आत्मिकरूपले काङ्ग्रेसमा विलय भइसकेको छ । बल्खु दरबारमा फगत उसको जीर्ण देह बाँकी छ । त्यसैले ज्ञानेन्द्रलाई दरबारबाट दरबारमा सारेर प्रतिक्रान्तिको प्रारूप तयार पार्ने यस निर्णयमा एमालेलाई सोध्नु र साध्नु सायद आवश्यकै ठानिएन । जो यस्सै आप\mनो हो, उसलाई सोधेर किन शब्दको अपव्यय गर्नु ?

ज्ञानेन्द्र शाहलाई नारानहिटी दरबारबाट नागार्जुन दरबारमा सार्ने नाटक कतै उनलाई नागरिकमा रूपान्तरण हुन नदिने र नेपाली जनतालाई सम्प्रभु बन्न नदिने सुविचारित चाल पो हो कि ? ज्ञानेन्द्र शाह ठूलो दरबारबाट सानो दरबारमा, ठूलो सुरक्षा घेराबाट सानो सुरक्षा घेरामा सारिँदै छन् । यो सरुवा राजतन्त्रबाट मुक्ति चाहने नागरिकहरूका आँखामा छारो हाल्ने नग्न अभ्यासझैँ लाग्छ । थाहा छ, नागार्जुन दरबार ज्ञानेन्द्र शाहको पि्रय थलो हो । उनले नागार्जुनको यही एकान्त वनमा लुकेर फौजी कू-को षड्यन्त्र रचेका थिए । संकटको घडीमा प्रेरणा लिन गिरिजाबाबु कोइराला निवास विराटनगर जाने गरेझैँ ज्ञानेन्द्र शाह हिजोसम्म नागार्जुन दरबार जान्थे । नागार्जुन वन आरक्षित क्षेत्र हो जसको संरक्षण नेपाल सेनाको हातमा छ । अब नागार्जुन दरबारको एकान्त बासमा बसेर ज्ञानेन्द्र शाहले त्यो सेनासँग चोचोमोचो त गर्ने नै भए । नारानहिटी दरबारको शस्त्रागारबाट उनले घातक प्रकृतिका निकै नै अत्याधुनिक हतियार चोरिसकेका होलान् । यी हतियार बिहानैपिच्छे पुजेर राख्नका लागि त नहोलान् नै । अनि ?

ज्ञानेन्द्र शाहलाई दरबारबाट दरबारमै सार्नु प्रतीकात्मक रूपले गणतन्त्रको घोषणालाई उपहास गर्नु हो, जनादेशमाथि तरबार उजाउनु हो, जनआकांक्षालाई कुल्चिनु हो र इतिहासप्रति गद्दारी गर्नु हो । राजाको गुलामसरहको राप्रपा, नेपालले समेत हावाको अदम्य दिशा बुझेर गणतन्त्रको ध्वजा बोकेको अवस्थामा भोलि झाङ्गनि दिने कुत्सित मनशायले नागार्जुन दरबारमा राजतन्त्रको बीउ जोगाइराख्ने यो दाउ ऐतिहासिक अपराध हो । सुन्छु, गद्दीच्यूत भएका ज्ञानेन्द्र शाहलाई अनावश्यक रूपले ठूलो संख्यामा सुरक्षाबल दिइँदै छ । अब सके नागार्जुन दरबार अभेद्य शाही किल्ला बन्ला जसमा प्रवेश गर्न दलका हस्तीहरूले प्रजाको रूपमा दरबारको द्वारमा बिन्तीपत्रे अनुहार लिएर उभिनुपर्ने दिन आउला । अहो ! जनशक्तिको यत्रो आँधीविरुद्ध प्रतिक्रान्तिका मतियारहरूले कति छिटो, कति सजिलै, कति निर्लज्जतासाथ मुन्टो उठाउन खोजेका हुन् !

सपनामा पनि अनिष्टकारी शाही राजतन्त्रको नाम लिन नचाहने नागरिकहरूको जिज्ञासा छ— नागरिकको दर्जामा झारिए भनिएका ज्ञानेन्द्र शाहलाई चाहिने निवास कत्रो हो ? एउटा शयनकक्ष, एउटा भोजनकक्ष, एउटा अतिथिकक्ष, एउटा पठनकक्ष, आमा र बूढीआमाहरूलाई अरू एकाध कक्षहरू, बस्, अरू यिनलाई कति कक्ष चाहिने हुन् ? दरबारसरहको त्यत्रो निर्मल निवासमा यति कक्षहरू छैनन् ? के यिनलाई हतियार भण्डारणकक्ष, लागू विखादि भण्डारणकक्ष, गैँडाको खाग, हस्तीहाड, मृगको कस्तुरी, बाघको छाला, मूर्ति र पुरातात्त्विक महत्त्वका वस्तु आदि भण्डारणकक्ष पनि चाहिने हुन् ? ठाँटबाँटका साथ नागार्जुन दरबारतिर ज्ञानेन्द्र शाहको सवारी चलाउने दासवत् कार्यले स्पष्ट संकेत गर्छ— ज्ञानेन्द्र शाह अझै प्रलोभन र दम्भयुक्त राजसी मनोदशामा छन् र तिनको सवारी चलाउनेहरू आत्महीन प्रजाको चुत्थो दर्जामा छन् । के राजतन्त्रको अन्त्य भनेको यही हो ? को को हुन् ब्रह्मनालमा पुर्‍याइएको राजतन्त्रको सढेगलेको लासमा प्राण सञ्चार गर्ने धृष्टता गर्दै नागार्जुनतिर ज्ञानेन्द्र शाहको सवारी चलाउन खुट्टा उचाल्ने यी दासानुदास प्रजाहरू ?

राजनीतिक दलका हस्तीहरूका करुणामयी नजरमा ज्ञानेन्द्र शाह नेपालका सबैभन्दा गरिब जीवात् रहेछन् । त्यसैले नाटकीय अभिनयसाथ रुँदै याचना गर्दा ज्ञानेन्द्र शाहले त्यत्रो नागार्जुन दरबार पाए । गरिबीग्रस्त नेपालमा ज्ञानेन्द्र शाहभन्दा सेख्खै कम गरिब जन असंख्य छन् । फटाफट अघि सरून् र तिनले दानवीर नेपाल सरकारसँग एक-एकवटा दरबार मागून् । खोलाहरूका उजाड बगरमा बर्खाको भेलले बगाउने ठाउँमा लालाबालाका टाउका लुकाउने छाप्रा बनाएर नारकीय जीवन जिउन विवश सुकुम्बासीहरू सडकमा निस्केर हुंकारको भाकामा मागून्— नेपाल सरकार ! हरिकंगाल ज्ञानेन्द्र शाहपछिका गरिब हामी नै हौँ । तसर्थ हामी नागार्जुन दरबारभन्दा अलि साना एक-एकवटा दरबार पाऊँ । दलित, कमैया, हलैया, बादी, खाते आदि लगायत गरिबीको रेखामुनिका सारा जनहरू आँधीमय जुलुस लिएर सडकमा निस्कँदै समवेत स्वरमा मागून्— नेपाल सरकार ! भोका, नांगा र दीनदुःखी ज्ञानेन्द्र शाहपछिका गरिब हामी नै हौँ । तसर्थ हामी नागार्जुन दरबारभन्दा अलि साना एक-एकवटा दरबार पाऊँ । उदार र दीनदयालु नेपाल सरकारले दावी गर्नेजति सबैलाई एक-एकवटा दरबार दिए ठीकै भो । नदिए तिनले गगनभेदी गर्जनका साथ आँधीको वेगमा नागार्जुन दरबार गएर ज्ञानेन्द्र शाहलाई पक्राउ गरी जनकारबाही, भाटेकारबाही आदि केही नगरीकन बडो जतनसाथ निर्मल निवास लगेर भित्र्याउन् । अनि बालुवाटार दरबारअगाडि गएर तिनले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई एक मुखले सोधून्- गिरिजाबाबु ! ज्ञानेन्द्र शाहजस्ता जनमारा तानाशाह र लुटेरालाई नागार्जुन दरबार दान गर्ने अधिकार दलका लाठेरूलाई कसले दिएको छ ? गिरिजाबाबु ! मुलुकभरिका नागरिकहरूले जर्‍याकजुरुक उठेर सिंहासनबाट धूलामा पछारेका ज्ञानेन्द्र शाहको सवारी दरबारबाट दरबारतिरै चलाऊ भनेर दलका माउहरूलाई गणतन्त्रको कुन घोषणाले निर्देश गरेको छ ? ((साभार :नयपत्रीका ,http://nayapatrika.com/)

आयो देशमा गणतन्त्र

ज्याद्ती चरम सिमा नाघे पछी
अन्याय र अत्याचार ले थिच्ये पछी
जाग्न थाले जनता सब एक भएर
आए सबै सडक मा ज्यानको बाजी थापेर

राजतन्त्र का बिरुद्ध  जन लहर उर्लियो
आन्दोलन को आंधी बेरी नेपाल भर फैलियो
 
शाहीद भये कयौं पुछियो सिउदो दिदी बहिनीको 
तत्न थाले तब जनता लगाइ नारा गणतन्त्र को

जनता सामु घुडा टेक्न् वाध्य भो राजतन्त्र
जन चाहना अनुसार आयो देशमा गणतन्त्र