दरबारबाट दरबारतिरै ज्ञानेन्द्र शाह
June 6, 2008खगेन्द्र संग्रौला
शनैःशनैः सतहमा उत्रेझैँ लाग्ने प्रतिक्रान्तिको कुरूप परिदृश्य ‘राजा गए, राजा रहे’ भनेजस्तो प्रतीत हुन्छ । नेपाल सरकारले राजाबाट नागरिक भए भनिएका ज्ञानेन्द्र शाहको सवारी तामझामका साथ नागार्जुन दरबारतिर चलाउने निर्णय गरेको छ । हाललाई अस्थायी व्यवस्था भनेर उनलाई १७ रोपनीको पटांगिनीसहितको नागार्जुन दरबार दान गरिएको छ । कालान्तरमा गरिने स्थायी व्यवस्थाभित्र ज्ञानेन्द्र शाहलाई पुनः नारानहिटी दरबार फर्काउने ग्य्रान्डडिजाइन लुकेको हुनसक्छ । यस नाटकको नेपथ्यमा गरिएको रिहर्सलको कथा कल्पना गरौँ । औँसीको मध्यरातमा सेना नायक रुक्मांगद कटवालको मध्यस्थतामा गिरिजाप्रसाद कोइराला र ज्ञानेन्द्र शाहबीच सुमधुर वगैमैत्रीका साथ गोप्य सहमति भयो होला । अनि भाँती पारेर सहमति सार्वजनिक गर्न नौनीमय वचनका धनी गृहमन्त्री कृष्णप्रसाद सिटौला खटाइए । वचनमा कुटिल विनम्रता लेपन गरेर ज्ञानेन्द्र शाहले गहभरि आँसु लिएर हात पसार्दै सिटौलासँग आवासको याचना गरे । याचनाप्रति सिटौला संवेदनशील भए । शान्तिमन्त्री रामचन्द्र पौडेलले भिखारी ज्ञानेन्द्रको याचना उचित ठाने । अनि नेपाल सरकारले हतार-हतार बडो नाटकीयरूपले सभक्ति नागार्जुन दरबारतिर ज्ञानेन्द्र शाहको सवारी चलाउने निर्णय गर्यो । पहिले कांग्रेस एमालेलाई छक्याएर थाङ्नामा सुताउँथ्यो, यसपाला माओवादीलाई सुतायो । वैचारिक स्वत्व र पहिचानको निजत्वबाट च्यूत भएको एमाले त थाङ्नामा सुताइन पनि लायक रहेन । पार्टीलाई आत्मिक नेतृत्व दिन महासचिवमा भर्ती गरिएका झलनाथ खनाल लगभग गोविन्दराज जोशीकै भाकामा ‘अघि बढ गिरिजाबाबु, ज्यान दिन तयार छौँ’ भनेजस्तो भाव प्रकट गर्दैछन्, र सकल एमालेगण मकैबारीको बुख्याँचाझैँ नवमहासचिवको दिव्य वाणीमा उग्र समर्थन जनाइरहेको छ । माओवादीविरुद्ध छेडिएको जेहादको क्रममा एमाले आत्मिकरूपले काङ्ग्रेसमा विलय भइसकेको छ । बल्खु दरबारमा फगत उसको जीर्ण देह बाँकी छ । त्यसैले ज्ञानेन्द्रलाई दरबारबाट दरबारमा सारेर प्रतिक्रान्तिको प्रारूप तयार पार्ने यस निर्णयमा एमालेलाई सोध्नु र साध्नु सायद आवश्यकै ठानिएन । जो यस्सै आप\mनो हो, उसलाई सोधेर किन शब्दको अपव्यय गर्नु ?
ज्ञानेन्द्र शाहलाई नारानहिटी दरबारबाट नागार्जुन दरबारमा सार्ने नाटक कतै उनलाई नागरिकमा रूपान्तरण हुन नदिने र नेपाली जनतालाई सम्प्रभु बन्न नदिने सुविचारित चाल पो हो कि ? ज्ञानेन्द्र शाह ठूलो दरबारबाट सानो दरबारमा, ठूलो सुरक्षा घेराबाट सानो सुरक्षा घेरामा सारिँदै छन् । यो सरुवा राजतन्त्रबाट मुक्ति चाहने नागरिकहरूका आँखामा छारो हाल्ने नग्न अभ्यासझैँ लाग्छ । थाहा छ, नागार्जुन दरबार ज्ञानेन्द्र शाहको पि्रय थलो हो । उनले नागार्जुनको यही एकान्त वनमा लुकेर फौजी कू-को षड्यन्त्र रचेका थिए । संकटको घडीमा प्रेरणा लिन गिरिजाबाबु कोइराला निवास विराटनगर जाने गरेझैँ ज्ञानेन्द्र शाह हिजोसम्म नागार्जुन दरबार जान्थे । नागार्जुन वन आरक्षित क्षेत्र हो जसको संरक्षण नेपाल सेनाको हातमा छ । अब नागार्जुन दरबारको एकान्त बासमा बसेर ज्ञानेन्द्र शाहले त्यो सेनासँग चोचोमोचो त गर्ने नै भए । नारानहिटी दरबारको शस्त्रागारबाट उनले घातक प्रकृतिका निकै नै अत्याधुनिक हतियार चोरिसकेका होलान् । यी हतियार बिहानैपिच्छे पुजेर राख्नका लागि त नहोलान् नै । अनि ?
ज्ञानेन्द्र शाहलाई दरबारबाट दरबारमै सार्नु प्रतीकात्मक रूपले गणतन्त्रको घोषणालाई उपहास गर्नु हो, जनादेशमाथि तरबार उजाउनु हो, जनआकांक्षालाई कुल्चिनु हो र इतिहासप्रति गद्दारी गर्नु हो । राजाको गुलामसरहको राप्रपा, नेपालले समेत हावाको अदम्य दिशा बुझेर गणतन्त्रको ध्वजा बोकेको अवस्थामा भोलि झाङ्गनि दिने कुत्सित मनशायले नागार्जुन दरबारमा राजतन्त्रको बीउ जोगाइराख्ने यो दाउ ऐतिहासिक अपराध हो । सुन्छु, गद्दीच्यूत भएका ज्ञानेन्द्र शाहलाई अनावश्यक रूपले ठूलो संख्यामा सुरक्षाबल दिइँदै छ । अब सके नागार्जुन दरबार अभेद्य शाही किल्ला बन्ला जसमा प्रवेश गर्न दलका हस्तीहरूले प्रजाको रूपमा दरबारको द्वारमा बिन्तीपत्रे अनुहार लिएर उभिनुपर्ने दिन आउला । अहो ! जनशक्तिको यत्रो आँधीविरुद्ध प्रतिक्रान्तिका मतियारहरूले कति छिटो, कति सजिलै, कति निर्लज्जतासाथ मुन्टो उठाउन खोजेका हुन् !
सपनामा पनि अनिष्टकारी शाही राजतन्त्रको नाम लिन नचाहने नागरिकहरूको जिज्ञासा छ— नागरिकको दर्जामा झारिए भनिएका ज्ञानेन्द्र शाहलाई चाहिने निवास कत्रो हो ? एउटा शयनकक्ष, एउटा भोजनकक्ष, एउटा अतिथिकक्ष, एउटा पठनकक्ष, आमा र बूढीआमाहरूलाई अरू एकाध कक्षहरू, बस्, अरू यिनलाई कति कक्ष चाहिने हुन् ? दरबारसरहको त्यत्रो निर्मल निवासमा यति कक्षहरू छैनन् ? के यिनलाई हतियार भण्डारणकक्ष, लागू विखादि भण्डारणकक्ष, गैँडाको खाग, हस्तीहाड, मृगको कस्तुरी, बाघको छाला, मूर्ति र पुरातात्त्विक महत्त्वका वस्तु आदि भण्डारणकक्ष पनि चाहिने हुन् ? ठाँटबाँटका साथ नागार्जुन दरबारतिर ज्ञानेन्द्र शाहको सवारी चलाउने दासवत् कार्यले स्पष्ट संकेत गर्छ— ज्ञानेन्द्र शाह अझै प्रलोभन र दम्भयुक्त राजसी मनोदशामा छन् र तिनको सवारी चलाउनेहरू आत्महीन प्रजाको चुत्थो दर्जामा छन् । के राजतन्त्रको अन्त्य भनेको यही हो ? को को हुन् ब्रह्मनालमा पुर्याइएको राजतन्त्रको सढेगलेको लासमा प्राण सञ्चार गर्ने धृष्टता गर्दै नागार्जुनतिर ज्ञानेन्द्र शाहको सवारी चलाउन खुट्टा उचाल्ने यी दासानुदास प्रजाहरू ?
राजनीतिक दलका हस्तीहरूका करुणामयी नजरमा ज्ञानेन्द्र शाह नेपालका सबैभन्दा गरिब जीवात् रहेछन् । त्यसैले नाटकीय अभिनयसाथ रुँदै याचना गर्दा ज्ञानेन्द्र शाहले त्यत्रो नागार्जुन दरबार पाए । गरिबीग्रस्त नेपालमा ज्ञानेन्द्र शाहभन्दा सेख्खै कम गरिब जन असंख्य छन् । फटाफट अघि सरून् र तिनले दानवीर नेपाल सरकारसँग एक-एकवटा दरबार मागून् । खोलाहरूका उजाड बगरमा बर्खाको भेलले बगाउने ठाउँमा लालाबालाका टाउका लुकाउने छाप्रा बनाएर नारकीय जीवन जिउन विवश सुकुम्बासीहरू सडकमा निस्केर हुंकारको भाकामा मागून्— नेपाल सरकार ! हरिकंगाल ज्ञानेन्द्र शाहपछिका गरिब हामी नै हौँ । तसर्थ हामी नागार्जुन दरबारभन्दा अलि साना एक-एकवटा दरबार पाऊँ । दलित, कमैया, हलैया, बादी, खाते आदि लगायत गरिबीको रेखामुनिका सारा जनहरू आँधीमय जुलुस लिएर सडकमा निस्कँदै समवेत स्वरमा मागून्— नेपाल सरकार ! भोका, नांगा र दीनदुःखी ज्ञानेन्द्र शाहपछिका गरिब हामी नै हौँ । तसर्थ हामी नागार्जुन दरबारभन्दा अलि साना एक-एकवटा दरबार पाऊँ । उदार र दीनदयालु नेपाल सरकारले दावी गर्नेजति सबैलाई एक-एकवटा दरबार दिए ठीकै भो । नदिए तिनले गगनभेदी गर्जनका साथ आँधीको वेगमा नागार्जुन दरबार गएर ज्ञानेन्द्र शाहलाई पक्राउ गरी जनकारबाही, भाटेकारबाही आदि केही नगरीकन बडो जतनसाथ निर्मल निवास लगेर भित्र्याउन् । अनि बालुवाटार दरबारअगाडि गएर तिनले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई एक मुखले सोधून्- गिरिजाबाबु ! ज्ञानेन्द्र शाहजस्ता जनमारा तानाशाह र लुटेरालाई नागार्जुन दरबार दान गर्ने अधिकार दलका लाठेरूलाई कसले दिएको छ ? गिरिजाबाबु ! मुलुकभरिका नागरिकहरूले जर्याकजुरुक उठेर सिंहासनबाट धूलामा पछारेका ज्ञानेन्द्र शाहको सवारी दरबारबाट दरबारतिरै चलाऊ भनेर दलका माउहरूलाई गणतन्त्रको कुन घोषणाले निर्देश गरेको छ ? ((साभार :नयपत्रीका ,http://nayapatrika.com/)