श्रीपेच कहाँ छ ?
June 7, 2008पर्शुराम काफ्ले/नयाँ पत्रिका
सरकारी समितिले नारायणहिटीभित्रको सम्पत्ति खोजिरहेको छ, तर मुख्य सामग्री श्रीपेच नै अहिलेसम्म भेटेको छैन । राजा भएलगत्तै ज्ञानेन्द्रले हनुमानढोकामा श्रीपेच लगाएका थिए, तर उनी नागरिक बनेपछि श्रीपेचको खोजी भइरहेको छ, तर समितिले भेटेको छैन ।
‘श्रीपेचको अभिलेख आइसकेको छैन,’ सरकारी समितिका संयोजक तथा सामान्य प्रशासन सचिव डा. गोविन्दप्रसाद कुसुमले नयाँ पत्रिकासँग भने । समितिले आइतबार प्रतिवेदन तयार पार्दैछ । समितिमा पुरातत्त्व विभागका महानिर्देशक कोषराज आचार्य, गृह मन्त्रालयका सहसचिव प्रतापकुमार पाठक, महालेखा नियन्त्रकको कार्यालयका एक सहसचिव सदस्य छन् ।
दरबार स्रोतका अनुसार महेन्द्र मञ्जिलमा रहेको पूर्वराजाहरूको ढुकुटीमा श्रीपेच राखिएको छ । ढुकुटीको साँचो ज्ञानेन्द्रकी आमा रत्नसँग छ ।
म्याद सकिनु दुई दिनअघि शुक्रबार मात्रै सरकारी समितिका पदाधिकारीलाई पूर्वराजाको निवासस्थानमा प्रवेश दिइएको थियो । ‘हामी सबै ठाउँ पुगेनौं,’ सचिव डा. कुसुमले भने । तर, सामानको विवरण थाहा नभएको उनको भनाइ छ ।
सरकारद्वारा गठित समितिलाई दरबारमा कार्यरत सेनाका अधिकृतहरूले पनि असहयोग गरेको स्रोतले दाबी गर्यो । ज्ञानेन्द्रको सुरक्षाका लागि स्थापित सुरक्षा समन्वय कार्यालयका प्रमुख जर्नेल विनोज बस्न्यातलाई समितिको सदस्यमा मनोनीत गरिए पनि सम्पर्कमै छैनन् ।
सैनिक स्रोतका अनुसार बस्न्यातले क्याप्टेन निरन्जन कार्कीलाई आफ्नो प्रतिनिधि बनाएर पठाएका थिए । ‘दुईवटा मिटिङमा क्याप्टेनलाई पठाइएको थियो,’ सचिव कुसुमले भने, ‘हामीले फर्काइदियौं ।’
समितिले विहीबार पूर्वराजा ज्ञानेन्द्रको कार्यालय निरीक्षण गरेको थियो । सचिवालय भवनको दोस्रो तलामा रहेको कार्यालय निरीक्षण गरेको डा. कुसुमले नयाँ पत्रिकालाई बताए । उनका अनुसार कार्यालयमा टेबुल, कुर्ची, सोफा र बाघको छाला थिए ।
नागार्जुन पुग्यो सशस्त्र टोली
पूर्वराजा ज्ञानेन्द्रको सुरक्षाका लागि सशस्त्र प्रहरीको सुरक्षाबल नागार्जुन पुगेको छ । इन्सपेक्टर उमेश थापाको कमाण्डमा रहेको ५० जनाको टोली शुक्रबार अपराह्न नागार्जुन गएको सशस्त्रको गतिविधि कक्षका डिएसपी अजय छतकुलीले नयाँ पत्रिकालाई बताए ।
यसैबीच, सेनाले पूर्वराजाको सुरक्षाका लागि मेजरको कमान्डमा २५ जना रहेको विशेष सुरक्षा बल गठन गरेको छ । सैन्यप्रवक्ता रमिन्द्र क्षेत्रीले एक-दुई दिनभित्रै सुरक्षा बल नागार्जुन जाने जानकारी दिए । दरबारभित्रै रहेको दरबार रक्षक वाहिनीले सो सुरक्षा बल गठन गरेको उनले बताए । केन्द्रीय सुरक्षा समितिले सिफारिस गरेअनुसार सरकारले पूर्वराजाको सुरक्षाका लागि टोली खटाएको हो । (साभार :नया पत्रीका http://nayapatrika.com/)