प्रमुख तीन दलको बैठकद्धारा फेरी जिम्मेवारी कार्यदललाई प्रदान, वैठक निष्कर्षबिहिन
June 16, 2008नेपालमिरर् डट कम/ रमा
चुलिदै गएको राजनीतिक गतिरोध अन्त्यका बिषयमा तीन ठूला दल काँग्रेस, माओबादी र एमाले नेताहरुका बिचमा आज भएको छलफल निष्कर्षमा नपुगी सम्पन्न भएको छ । सरकार गठनको लागि शक्ति बाँडफाँड, सेना समायोजन लगायतका विषयमा मस्यौदा तयार पार्न गठित त्रिदलीय कार्यदल र तीन शीर्ष नेताहरुको संयुक्त बैठकले पुनः सहमतिको प्रयास गर्न कार्यदललाई जिम्मेवारी दिएको छ ।
बैठकमा माओवादी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता डा।बाबुराम भट्टराई, रामबहादुर थापा, मोहन वैद्य किरण लगायत सहभागी हुनुहुन्थ्यो । एमालेका नेता माधवकुमार नेपाल, भीम रावल, काँग्रेसका वरीष्ठ नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधी, आनन्दप्रसाद ढुंगाना छलफलमा सहभागी हुनुभएको थियो ।
संबिधान सभाको आगामी ४ गते बस्ने बैठक अगाबै गतिरोध अन्त्य नभए सरकारबाट बाहिरिने माओवादीले दिएको चेतावनीको समय नजीकिंदै गर्दा तीन दलका शीर्षस्थ नेताहरुबीच आज छलफल भएको हो ।
कार्यदलले राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधानमन्त्रीको चयन पद्धति, माओवादी भातृ संगठन वाईसिएललाई राजनितिक संगठनको रुपमा परिमार्जन, अन्तरिम संविधानमा संशोधन, शक्ति वाँडफाँड, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यावधि लगायतका विषयमा सहमति गरेर मस्यौदा तयार पारिसकेको छ ।
(from:nepalmirror.com)