साँझसम्म सहमति नभए माओवादी सरकारबाट अलग भई आन्दोलनमा जाने चेतावनी
June 17, 2008नेपालमिरर् डट कम / रमा
आज साँझसम्ममा माओवादीको नेतृत्वमा सरकार गठन गर्नेगरी राजनीतक सहमति नभए सरकारबाट बाहिरिने चेतावनी दिएको माओवादीले आफ्नो अडान कायमै राख्ने निर्णय गरेको छ । माओवादीको अडान अनुरुप आज साँझसम्ममा दलहरु सहमतिमा नजुटे माओवादी सरकारबाट बाहिरिने निर्णय सचिवालय बैठकले गरेको माओवादीका वरिष्ट नेता मोहन वैद्य किरणले जानकारी दिनुभएको छ । राजनीतिक गतिरोधको अन्त्यका लागि पार्टी धारणा तय गर्न माओवादी केन्द्रीय सचिवालयको आज विहान बसेको बैठकले शक्ति बाँडफाँट, राष्ट्रपतिको चयन, माओवादी सेना समायोजन लगायतका विषयमा पुर्ववत् धारणालाई अझ सशक्त पार्दै दलहरुवीच वार्ता जारी राख्ने निर्णय भएको पनि बताइएको छ । राजनीतिक गतिरोधको अन्त्यका लागि आज दिनभरी नै प्रमुख दलहरुवीच दुइपक्षीय र त्रिपक्षीय छलफल गर्ने र सहमति नजुटे आजै बाट सरकारबाट बाहिरिने निर्णय गरेको माओवादी नेता बैद्यले बताउनु भयो । आफुहरु सरकारबाट बहिरिएपछि बर्तमान सरकार अवैध ठहर गरी आन्दोलन गर्ने निर्णयमा माओवादी पुगेको जानकारी दिईएको छ । सचिवालय बैठकमा प्रधानमन्त्री गिरिजाप्रसादले आजै राजीनामा दिइनुपर्ने बारेमा पनि छलफल भएको थियो ।
राजनितीक सहमती जुट्न नसके आज साँझबाट माओवादी सरकारबाट बाहिरिने चेतावनी अध्यक्ष प्रचण्डले हिजै प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई भेटी दिइसक्नु भएको माओवादीले बताएको छ ।(from:http://nepalmirror.com/)