अमेरिकाको चिठी

June 20, 2008

देशकाल : किशोर नेपाल

विश्वका बुद्धिजीवी र पत्रकार जहाँ एकातिर नेपालमा ०६३ को वैशाखमा भएको जनआन्दोलन र गत वर्ष भएको संविधानसभा चुनावको सफलताका आधारमा नेपालको भविष्य सुनिश्चित बताउँछन्, त्यहीँ अर्कोतिर निर्वाचनमा अतुलनीय हिसाबले विजयी भएको दललाई शासन सुम्पिन गरिएको घिङ्न्याइँ देखेर खित्खिताएर हाँस्छन् । न्युयोर्कमा नेपालको राजनीतिमा रुचि राख्ने पत्रकारको कमी थिएन । तर, यसपटक उनीहरूमा गजबको खिन्नता देखियो । गएसाता मात्र नेपालबाट फर्किएकी एक पत्रकारको निष्कर्ष थियो- पुराना नेता माओवादीसँग निकै डराएका छन् । तर, उनीहरूको यो डर माओवादीले मुलुकलाई साम्यवादी शासन संरचनामा लैजाने सैद्धान्तिक विषयमा केन्दि्रत छैन । उनीहरू शासनका मौलिक संरचनामा युगान्तकारी परिवर्तन भए पनि आफूलाई त्यस्तो परिवर्तनबाट अप्रभावित देखाउन चाहन्छन् । अहिलेको हिसाबमा माओवादी शासनमा आउनु पुराना संरचना भत्किनु हो । पुराना संरचना भत्किनेबित्तिकै शासनकेन्द्रमा रहँदै आएका दलको संरचना पनि भत्किन्छ । दशकौंदेखि राजनीतिक व्यवसायमा लागेका नेताले यो तथ्य नबुझेका छैनन् । पुरानो भत्काएर नयाँ संरचना निर्माण गर्नु निकै कठिन मात्र नभएर डरलाग्दो कुरा हो । यसैका कारण नेता आत्तिएको हुनुपर्छ ।

वासिङ्टन डिसीबाट प्रकाशित एक प्रतिष्ठित जर्नलसँग सम्बद्ध पत्रकार सुजन पोलेन नेपालबाट फर्किएको साता पनि बितेको छैन । उनी केही दिन नेपालमा बसेर माओवादीको शान्तिपूर्ण सत्तारोहण हेर्न त्यहाँ पुगेकी थिइन् । उनका सम्पादकले उनलाई पूरै घटनाक्रमको आँकलनको जिम्मेवारी दिएका थिए । सुजनले आठ-दस दर्जन तस्बिर पनि खिच्नु थियो । तर, नेपाली राजनीतिको सस्तो र सुस्त गति देखेपछि उनलाई लाग्यो, नेपालमा परिवर्तनले स्थायित्व लिन अझै केही समय कुुर्नुपर्नेछ । उनको विश्लेषणअनुसार पुराना नेता शासनसत्तामा आप\mनो वर्चस्व कायम राख्न जुनसुकै हदसम्म पनि जान सक्छन् । उनका सम्पादकले सुजनको कुरा सुनिसकेपछि उनलाई घर र्फकने निर्देश गरेका थिए । सुजनका अनुसार सम्पादकको भनाइ थियो, ‘जनमतको अपमान गरेपछि जनताको आक्रोश बढ्छ । यस्तो अवस्थामा पुराना नेता लोकतन्त्रको नाममा सैन्यविकल्पको पक्षमा पनि जान सक्छन् ।’

अमेरिकी बुद्धिजीवीका दृष्टिमा नेपालमा गणतन्त्र आए पनि त्यसले पुराना संरचना नभत्काउँदासम्म त्यसको खासै प्रभाव देखिँदैन । नेपालमा गणतन्त्रको घोषणासँगै केही जटिलता देखिएका छन् । माओवादी सेनालाई राष्ट्रिय सेनामा समावेश गर्ने कुरासँग राजनीतिक समस्यालाई अल्झाइएको छ । नेपाली सेनाको नेतृत्वले माओवादी सेनालाई राजनीतिक शक्तिका रूपमा हेरेको छ । यद्यपि, नेपाली सेनालगायतका संसारका कुनै पनि सुरक्षा शक्ति राजनीतिबाट निरपेक्ष हुँदैन । अमेरिकी सेना, जो अहिले इराकमा लडिरहेको छ, राजनीति निरपेक्ष हो त ? न्युयोर्कका राजनीतिशास्त्री स्टिभको विचारमा नेपालका नेता शासनसत्ताको लोभमा नराम्रोसँग लटपटिएका छन् । यस्तो लोभमा परेका नेताको आडमा राज्यसत्तामा सेनाको हस्तक्षेप हुनसक्ने सम्भावनालाई इन्कार गरिहाल्नुपर्ने अवस्था रहँदैन । सेनाको प्रत्यक्ष राजनीतिक स्वार्थ नदेखिए पनि यसको यथास्थितिवादी र परम्परागत स्वरूपले अहिलेको परिवर्तनलाई थेग्न सक्दैन । त्यसमा पनि विगतमा परिवर्तनका विरुद्ध राजा र दलहरूको पक्षबाट नेपाली सेना प्रयोग भइसकेको छ । अघिल्लो शताब्दीको उत्तरार्द्धमा भएका धेरैजसो लोकतान्त्रिक परिवर्तन कचल्टिनुका कारण यस्तै छन् । नेपालका नेताले विवेक पुर्‍याउन नसके यस परिवर्तन जोगिएला वा नजोगिएला, यसै भन्न सकिन्न । राजनीतिक व्यवस्थापनमा विवेक पुर्‍याउन नसके नेपाल फेरि एकपटक लामै हिंसात्मक द्वन्द्वमा फस्ला ।

अमेरिकी सरकारले माओवादीलाई आतंककारी समूहको सूचीमा राखेको जानकारी धेरै अमेरिकीलाई नै छैन । उनीहरू कुनै पनि मुलुकका माओवादीले अहिलेको समयमा पनि रुढिवादी मान्यताका आधारमा शासन चलाउन सक्छन् भन्नेमा विश्वास राख्दैनन् । नेपालका माओवादी साम्यवादी व्यवस्थाको स्थापनाका लागि लडेका भए पनि नयाँ विश्व परिवेशले उनीहरूलाई त्यसो गर्न दिँदैन भन्ने दृष्टिकोण छ उनीहरूको । अहिलेको विश्वमा आन्तरिक राजनीतिमा मात्र समावेशी भएर पुग्दैन, अन्तर्राष्ट्रिय राजनीतिमा पनि समावेशी हुन सक्नुपर्छ । नत्र आर्थिक विकासको सामूहिक लक्ष्यसँग सम्बन्ध काटिन्छ जुन माओवादीले बुझेका छन् कि छैनन् ? त्यसमा पनि अमेरिकीको चासो छैन । तर, नेपालको सन्दर्भमा चुनाव जितेर आएका माओवादीलाई लामो समय सत्ताबाट बाहिर राख्दा द्वन्द्व बढ्ने र समाज अस्तव्यस्त हुनेमा यहाँ भएका नेपाली राजनीतिका जानकार सहमत छन् । अहिले जे देखिएको छ, त्यो अवस्था निरन्तर रहने हो भने नेपालले अहिलेसम्म शान्तिका पक्षमा गरेका उपलब्धि निरर्थक हुनेछन् ।

जनमतअनुसार माओवादीको सत्तारोहणको अधिकार अवरुद्ध भएसम्म पुराना स्थापित दलको मर्यादा स्थापित हुन सक्दैन । राजनीतिक हिसाबले अहिले प्रत्यक्षतः माओवादी फाइदामा छन् । उनीहरूको नैतिक विजय भएको छ । विकासशील देशहरूको राजनीतिमा मूल्य-व्यवस्था र त्यसको मान्यताको आधार बलियो छैन । तर, तुलनात्मक हिसाबले जनताको मनमा दलप्रतिको राजनीतिक प्रतिष्ठा टिकाइराख्न नैतिक शक्तिले ठूलो काम गर्दछ । नेपालका अन्य दललाई निकट भविष्यमा पनि यो तुलनात्मक लाभको अवस्था उपलब्ध हुने देखिँदैन । यो अत्यन्त खतरनाक अवस्था हो । क्रान्तिबाट आउने शक्तिले नै उदारवादी अवस्थाको पनि प्रतिनिधित्व गर्ने अवस्था आयो भने त्यसबाट आउने परिणाम सधँै रोचक रहन सक्दैन ।

नेपालका मामिलामा रुचि राख्दै आएका अमेरिकी अझै केही समय नेपाली सत्ताको चाँजोपाँजो मिल्ने लक्षण देखिरहेका छैनन् । उनीहरूको विचारमा माओवादीको सत्तारोहणमा जति अवरोध खडा गरिन्छ, त्यति नै नेपालको अवस्था दुखद् हुनेछ । जनताको रुचि दलहरूबीच सत्ताको बाँडफाँडमा भन्दा सत्ताको व्यवस्थापनमा छ । दलहरूले राजनीतिक व्यवस्थापनमा आप\mनो अदक्षता प्रदर्शित गरिसकेका छन् । उनीहरूले आप\mनो विचार र सोचाइमा परिवर्तन ल्याएर पार्टी व्यवस्थापनका कार्यसूची बलियो बनाउनुपर्छ । नाम जपेर होइन, आचरण र व्यवहारका आधारमा को कति लोकतन्त्रवादी चिनिने अवस्था सिर्जना हुनुपर्छ । चुनाव हारेकाले लोकतन्त्र जोगाउन खोज्दा अझै ठूलो दुर्घटना हुनसक्छ । (from:nayapatrika)