जब उनी जाँदै थिए…

June 25, 2008
पूर्वराजा ज्ञानेन्द्र शाह नारायणहिटीबाट बाहिरिंदै गर्दा तपाईंलाई कस्तो लाग्यो ? खगेन्द्र संग्रौला, अभि सुवेदी, वैरागी काइँला, किरण मानन्धर, मनुजबाबु मिश्र, नीर शाह, सुनील पोखरेल, रामेश, हरिवंश आचार्य, बद्री पंगेनी र अर्जुन पराजुलीका अनुभूति
आखिर ‘भूपति’ धूलिसात् भए । ती चन्द्र र सूर्य रहेसम्म हाम्रा मालिक रहिरहनेछन् भनेर पढाइन्थ्यो । हाम्रा लागि ती प्राणभन्दा प्यारा छन् भनेर दिनहुँजस्तो सम्झाइन्थ्यो । ती नरहे देश रहन्न, हामी रहन्नौँ भनिन्थ्यो । ती यति सर्वव्यापी थिए कि पूरै देश उनको निजी मौजा लाग्थ्यो । पार्कदेखि प्रकृति संरक्षणकोष र प्रज्ञाप्रतिष्ठानसम्म, गुड्ने सडकदेखि उड्ने हवाईजहाजसम्मलाई ती र तिनका पुर्खाका नाम दिइएको थियो । तिनलाई जीवित भगवान् मनाउन हरसम्भव प्रयास भए । तर, गत जेठ २९ गते तिनै ‘भगवान्’ ले चानचुन पन्ध्र सय शब्दको आत्मपरक बिलौना पढे, जनतालाई श्रीपेच बुझाए र दरबार छाडेर गए । ँभूपति’लाई भूमिपुत्रहरूले सिंहासनबाट ओह्राले र भूमिमा झारे । प्रत्यक्ष राजनीतिमा भएकाहरूका आफ्नै आग्रह होलान् तर बादसाह अमिलो मन पार्दै लौहअश्व चढेर लुसुक्क दरबारबाट बाहिरिएको इतिहासको यो अद्भूत दृश्य कलाकार, साहित्यकार, चित्रकार, गायक र संगीतकारलाई कस्तो लाग्यो होला ? आखिर यो समाचार थिएन, इतिहास थियो- विशिष्ट, मौलिक र युगान्तकारी ।

झट्ट हेर्दा टिठलाग्दो एकल संवाद सकेर पूर्वराजा अशान्त मुद्रामा नागार्जुनतिर लागेको दृश्यलाई स्रष्टाहरूले आ-आफ्नै ढंगले अनुभूत गरेछन् । धेरैको प्रतिक्रिया अत्यन्त वीररसपूर्ण थियो, उत्साह र आह्लादले भरपूर । केहीले भने अति करुणरस पोखे र शोक व्यक्त गरे । अभि सुवेदीलाई लागेछ, पूर्वराजाले राम्ररी नाटक खेल्न जानेनन् । लेखक खगेन्द्र संग्रौलाले भने, ‘यस्तो लाग्यो कि सधैं जित्ने जुवाडे झेलको पोल खुलेर बुट्टीटाट भएपछि थकित सुस्केरा र मौन रोदनसाथ खालबाट हिँड्यो ।’ वैरागी काइँलाचाहिँ महत्त्वाकांक्षी राजा लुसुक्क निस्केको देखेर दंग रहेछन् । भने, ‘त्यो त सजिलैसँग पो गयो ए भाइ !’ अनि, किरण मानन्धरले केहीबेर रंग र कुची थन्क्याउँदै प्रतिक्रिया दिए, ‘केही बिगार्ला कि भन्ने शंका थियो, अब रहेन ।’
तर, यो नागरिक उत्सवलाई ‘शोकपूर्ण र आत्मविरह’ ठान्नेहरू भने प्रसन्न थिएनन् । ‘बोल्ने देउता भनेको राजा, नबोल्ने देउता भनेको पशुपतिनाथ’ कलाकार मनुजबाबु मिश्रले भने, ‘यी दुवैलाई एकैपटक ढालेको दृश्य हेर्दा मेरो मन कति छियाछिया भयो, तपाईं अनुमान गर्न सक्नुहुन्न ।’

खगेन्द्र संग्रौला
पूर्वतानाशाह ज्ञानेन्द्र रातिपख विराट् कोलाहलमाझ नारानहिटी दरबार छाडेर नागार्जुनतिर हिँडेको दृश्यले झेली खेल खेलेर सधैं जित्ने जुवाडे झेलको पोल खुलेर बुट्टीटाट भएपछि थकित सुस्केरा र मौन रोदनसाथ खालबाट हिँडेको झल्को दियो । कपटी जुवाडेको यो न्यायोचित पराजयमा अकासैभरि मुक्तिकामी नागरिकहरूको जयको तुमुल ध्वनि गुन्जियो । सर्वत्र परित्यक्त ज्ञानेन्द्रको पलायनसँगै नारानहिटीको सेरोफेरो नागरिकका लागि निषेधका कठोर बार-बन्देजहरूबाट मुक्त भयो, र ज्ञानेन्द्र स्वयंका लागि अथाह प्रलोभन, असीम दम्भ र अकथनीय क्रूरताबाट मुक्त हुने बाटो खुल्यो । ती पीडक जाँदा तिनको अनुहारमा औँसीको घना अन्धकार पोतिएको थियो, र ती गएको रमिता हेर्ने पीडितहरूका अनुहारमा पूणिर्माको उज्यालो चमक थियो । तिनको गमनसँगै इतिहासका भित्तामा युगान्तरको मनोरम कथाको खाका कोरियो ।
ती जाँदा नारानहिटीमाथिको आकाशमा अट्टहासको प्रतिध्वनि सुनियो । त्यो प्रतिध्वनि तिनका हातबाट ताडनाको सिकार भएका मृतक र जीवितहरूको चिर प्रतीक्षित प्रतिक्रिया थियो । जब ती विष्णुको औतार र भूपतिको अभिनयमा थिए, ती बाहिर जाँदा सेरोफेरोको धरती र आकाश, वैभव र सुविधा, शान र गौरव सबै तिनका बन्दुकको वशमा हुन्थ्यो । तर, यसपाला बाहिर जाँदा नेपाल सरकारले नदिएका दुईवटा गाडी चोरेर ती गएछन् । यो तुच्छ चोरी तिनको प्रलोभन र दम्भको आकार घटेको प्रत्यक्ष प्रमाण हो । ठूलो चोरबाट सानो चोर हुँदै आनाकानी, दुबिधा र धरमरसाथ ती सादा नागरिक बन्न नागार्जुनतिर उकालो लागे । बडा राम्रो भो !

किरण मानन्धर
सबैभन्दा राम्रो मलाई के लाग्यो भने गणतन्त्रका लागि हामी लडिरहेका थियौँ । जबसम्म राजाले गृहत्याग गरेका थिएनन् तबसम्म मनमा शंका-उपशंका उब्जिरहेका थिए । जब उनी ठूलो दरबार छोडेर सानो दरबार गए मनमा साह्रै हर्षोल्लास भयो । अब आशा लाग्छ, गणतन्त्रको कार्यान्वयन अवश्य पनि नेपाली जनताले पाउनेछन् ।

अर्जुन पराजुली
हामीले ज्यानको बाजी लगाएर आन्दोलन गरेका थियौँ । आन्दोलनको माग नै जनताको शासन जनताको हातमा ल्याउनु थियो । राजाले दरबार छाडेर जाँदा जनताको इच्छा बुझेछन् जस्तो लाग्यो । म त सार्‍है खुसी भएँ । फेरि अर्को कुरा राजालाई दरबारबाट निकाल्ने अवसर हामीलाई नै मिलेकामा पनि विशेष खुसी लागेको छ ।
हरेक प्राणीलाई सम्मानपूर्वक बाँच्ने अधिकार हुन्छ । त्यस अर्थमा उनले पनि बाँच्न पाउनुपर्छ । त्यो उनको अधिकार पनि हो । मेरो त राजालाई कुनै सुझाब छैन उनी सुझाब दिनलायक पात्र नै होइनन् ।


अभि सुवेदी
ज्ञानेन्द्र शाहको वहिर्गमन एउटा अत्यन्त नाटकीय अवसर थियो । मैले नेपाली इतिहासको त्यो अभूतपूर्व घटना हेर्न नारायणहिटीको वरिपरि निकै समय बिताएँ । नेपाली झन्डा फहराइएको पहिलेको राजदरबार एउटा मञ्चजस्तो थियो । त्यसको पछिल्तिर कहीँ गि्रन रुम थियो । त्यसबाट आएर एकल संवाद बोल्ने पात्रको प्रतीक्षामा अधैर्य पत्रकारहरू धेरै बसेका थिए । मानिसहरू ज्ञानेन्द्र शाहलाई नेपाली भाषाले धान्नेसम्मका अभद्र गाली गरेर बसेका थिए । टेलिभिजनहरूले त्यो सबै समातेर सान दिएर प्रत्यक्ष प्रसारण गरिरहेका थिए । त्यस नाटकका नायक ज्ञानेन्द्र बाहिर निस्के अनि एकल संवाद बोले ।

पाठ राम्ररी घोकेका थिएनन् तिनले । तिनको लिखित संवाद, बोल्ने शैली र तिनको विषयमा ठूलो अन्तर थियो । तिनले राम्ररी नाटक खेल्न सकेनन् । तिनको विषयमा नेपाली राजतन्त्रको इतिहासका अत्यन्त तीव्र क्षणहरू थिए । तिनको निजी जीवन नै एउटा विषय थियो । ती मानिसले नेपाली राजतन्त्रको इतिहासमा दुई-दुईपटक राजमुकुट लाए । दुबैपटक तिनको शिरमाथि त्यो आएर बसेको थियो र फेरि कहिल्यै नर्फकने गरी झिकिएको थियो । त्यस्तो नाटकीय, निजात्मक र इतिहासका मोड समाउने कुरा तिनले पढ्दा एउटा पाठ पढेजस्तो कनिकुथी प्रस्तुत भएको थियो । तिनको संवेदना भनेको ती भक्कानिएकोबाट मात्र देखियो । तर, तिनले आफ्नो निजत्व, भावना र मानवीयताको पुष्टि गर्ने आधार कम थिए । तिनले जनताको क्रूर दमन गरेका थिए । तिनले प्रजातान्त्रिक अधिकार खोसेका थिए । उनका निजी जीवनबारे बोलिएका संवादमा उनको जीवनको असंवेदनशील कालखण्ड मौन थियो । ती हिँडेपछि अर्को नाटक भयो । तिनका खाली कुर्सीमा बसेर, भाँचेर, हिँहिँ गरेर पत्रकारहरूले देखाएको प्रस्तुति हेरेपछि मलाई नेपाली इतिहासका शून्य खण्डहरूमा हामी धेरै दमित इच्छाहरू लिएर पस्तै छौँ कि जस्तो लाग्यो । भूतपूर्व राजा ज्ञानेन्द्र शान्तिपूर्ण ढंगले नारायणहिटी छोडेर गएपछि मेरो मन हलुका भएको थियो ।

मनुजबाबु मिश्र
मानव-इतिहास भनेकै राजाको इतिहास हो । सन् १९४६ को द्वितीय विश्वयुद्ध सिद्धिएपछि विश्व-राजनीतिले नयाँ कोल्टे फेर्‍यो र राजाप्रतिको द्वेष बढ्दै जान लाग्यो । अब हाम्रो देशमा त सधैं राजाले राज्य गरे । र, यहाँ जति पनि गौरवशाली वस्तुहरू वास्तुकला, मूर्तिकला, चित्रकला जति बने, जसका लागि हामी बढी गौरव गर्छौं, ती सबै राजाका राज्यकालमै बनेका हुन् । देवकोटा, लेखनाथ र समजस्ता देशका अद्वितीय साहित्यिक स्रष्टाहरू आज भनिएको बहुदलीय व्यवस्थाका उत्पादन थिएनन् । राजा नेपालमा मात्र होइनन्, विश्वभरि नै सभ्यताका निर्माता बनेर रहेका थिए । भारतको ताजमहलदेखि मिश्रको पिरामिडसम्म जे-जति मानवनिर्मित वास्तुकला, मूर्तिकला, चित्रकला छन्, साहित्य-संगीतको उत्कृष्टतामा पुगेका जति पनि स्रष्टाका नाम हामी जान्दछौँ, ती सबै कुनै न कुनै राजाको राज्यकालमै बनेका थिए ।
म त राजनीतिक व्यवस्थामा ‘फुटबलिज्म-सिस्टम’ अत्यधिक मन पराउने अद्वेतवादी मान्छे परेँ । म ५-६ सय मान्छेको सल्लाहबाट देश बन्छ भन्ने कुरामा पटक्कै विश्वास नराख्ने मान्छे हुँ । म मात्र होइन सम्पूर्ण नेपालीले मान्ने ‘बोल्ने देउतामा राजा र नबोल्ने देउतामा पशुपति’ दुबैलाई ढालेको हेर्दा मेरो हृदय कति विदीर्ण भयो होला कसैले पनि अनुमान गर्नसक्ने कुरा हो । आज राजालाई निकालेर देश निर्माण गर्छु भन्ने नारा सोम शर्माको कल्पनाजस्तो मात्र लाग्छ ।

हरिवंश आचार्य
घरमै बसेर टेलिभिजन हेरिरहेको थिएँ, राजा ज्ञानेन्द्र दरबारबाट बाहिरिएको दृश्य देखेँ । त्यो देख्दा मलाई लाग्यो, ‘बल्ल तिम्रो भाग्य सुरु भयो ।’ त्यस किसिमको वहिर्गमनले सबैलाई राम्रो भयो, उनले पनि सम्मानपूर्वक बस्न पाए । हामीले पनि कुनै झन्झट बेहोर्नुपरेन ।
म त भन्छु- अब झुक्किएर पनि राजनीतिमा हात नहाल, फेरि पनि राजनीतिमा लाग्ने चेष्टा गर्‍यौ भने तिमीलाई पनि राम्रो हुँदैन, यस देशलाई पनि राम्रो हुँदैन । मुस्कानका विषयमा के टिप्पणी गर्नु, कहिलेकाहीँ परिस्थिति नै त्यस्तै पर्छ । हामीले पनि कुनैबेला मन नरमाए पनि हाँसेको जस्तो गर्नुपर्छ ।

सुनील पोखरेल
धेरै वर्षदेखि कुरेको क्षण हो यो । एकदमै प्रतीक्षा गरेको क्षण हो । जसरी हामीले स-साना कुरामा खुसी मनाउँथ्यौँ, गणतन्त्रै घोषणा गर्दाखेरि पनि, त्यस्तो भएन । के के नपुगेको जस्तो भयो । औपचारिक घोषणा मात्र भएको हो कि जस्तो भयो, त्यति उल्लास भएन ।
राजाको वहिर्गमन पनि झन्डै त्यस्तै भयो । किनभने, नागार्जुन दरबार दिए । एउटा दरबारबाट अर्को दरबारमा सरेजस्तो भयो । र अर्को, राजाले दरबार छाड्ने दिन पत्रकार महोदयको प्रदर्शनी दिक्कलाग्दो भयो । समग्रमा भन्नुपर्दा साँच्चै छोडेको हो र जस्तो लागिराखेको छ । नयाँ संविधान नबनुन्जेलको अवधिमा हाम्रा राजनीतिक दलहरूले चलाउने, जिस्काउने, मोलतोल गर्ने अनि मूल मुद्दालाई बिर्सेर राजाकै ‘हाउगुजी’ देखाइरहने डर त्यतिकै रहेजस्तो लाग्छ ।

बद्री पंगेनी
ज्ञानेन्द्र शाहले दरबार छाडेको दृश्य हेर्नका लागि नारायणहिटी दरबारमै पुगेको थिएँ । उनी कुटिल मुस्कानसहित निस्केको देखेँ । त्यति ठूलो चोट पर्दा पनि उनले हाँसेर टारे । उनको हाँसो बनावटी हो भन्ने कुरा स्पष्ट झल्किन्थ्यो ।
उनले दरबार छाडेको देख्दा लाग्यो, एउटा सिंह म पनि शाकाहारी हुन्छु भन्दै गुफा छाडेर, हरिण, खरायो, मृगजस्तै गरी जंगलतिर लुरुलुरु लाग्यो । तर, मलाई डर छ, कतै त्यो पहिलो गुफामा अर्को मांसाहारी हिंस्रक सिंह पस्ने त होइन ?

रामेश
उनले दरबार छाड्नुअघि जुनखालको सफाइ दिए, त्यो केवल आफू चोखिने दाउ मात्रै हो । उनको वक्तव्यकै भरमा नेपाली जनताले उनीप्रति सदाशयता व्यक्त गर्दैनन् । मैले पैसा कमाइनँ, दरबार-हत्याकाण्डमा मेरो संलग्नता छैन भन्नु वाहियात कुरा हो । वास्तविकता के हो त्यो त नेपाली जनताले खोज्ने नै छन्, जनतालाई कसैले पनि झुक्याउन सक्दैन । अहिलेको अवस्थामा सबैभन्दा ठूला न्यायाधीश नै जनता हुन् । बाहिरिनुअघि आयोजना गरेको कार्यक्रम सार्‍है अव्यवस्थित थियो ।
कुनै पनि मान्छेको परिचय उसको बोलीले दिँदैन, व्यवहारले दिन्छ । उनी कस्ता मान्छे हुन् भन्ने त जनताले बुझिसकेकै छन् नि । अब त्यस्तो भाषणको पनि कुनै अर्थ छैन । यस्ता कुराले मलाई केही हुन्नझैं गरेर हाँसे पनि त्यो सहज हाँसो भने किमार्थ होइन । एउटा कुरा भन्नैपर्छ, यदि यस मुलुकमा जनसेना थिएन भने, उनले त्यसरी दरबार छाड्नेवाला थिएनन् । एमाले र कांग्रेसका धेरै मान्छेले मान्दैनन्, जनसेनाको आडमा शाहीसेनाविरुद्ध जनयुद्ध भयो । जनयुद्धकै बलमा सडक-आन्दोलन सफल भएको हो, त्यसमा नागरिक समाजको भूमिकालाई पनि बिर्सनु हुँदैन ।

वैरागी काइँला
त्यस्ता हठी, महत्त्वाकांक्षी राजा यति सजिलै जान्छन् भनेर अधिकांश नेपालीलाई विश्वास थिएन । एउटा कुरामा मज्जा लाग्यो, सजिलैसँग गए, राम्रो भयो । जनताको आदेश सहज रूपमा पालना गरेर दरबार छोडिदिए त्यो राम्रो पक्ष हो । सामन्तवादी संस्थाको अन्त्य भएर अब नयाँ युगमा नेपालले प्रवेश गरेको छ । राजाले पनि जनताको आदेश र इच्छालाई शिरोपर गरेर सहजतापूर्वक दरबारबाट वहिर्गमन भए, यो एक सुखद पक्ष हो ।

नीर शाह
म त आफ्नै नयाँ फिल्मको सुटिङका क्रममा नवलपरासीमा थिएँ । राजाले दरबार छाड्दाको दृश्य हेर्न पाइनँ । त्यही दृश्य हेर्न पाएको भए ठ्याक्कै मिलाएर भन्ने थिएँ । राजाको वहिर्गमनलाई मैले सहज रूपमा लिएको छु । मलाई पहिल्यै लागेको थियो, एक न एक दिन राजसंस्थाको अन्त्य हुन्छ भन्ने, आखिर त्यही भएरै छाड्यो । मलाई यो घटना भयंकर हो जस्तो लाग्दैन । राजाले दरबार छाड्दा आमनेपाली नागरिकले जे महसुस गरेका छन्, मैले पनि त्यही महसुस गरेको छु ।
(From:nayapatrika)