उनले नजन्माएका सन्तान
June 27, 2008आमा हुन गाह्रो छ पहाडजस्तो कवि तीर्थ श्रेष्ठको कवितामा जस्तै आमा हुन असाध्यै गाह्रो छ । सपनाको पछि लागेर सन्तानहरू त कहाँ-कहाँ पुगिदिन्छन् । आमाहरू भने सन्तानको बाटो हेरर बस्छन्, कति सन्तान त बचेराझै उडेर जान्छन् । तर, ती कहिल्यै फर्किंदैनन.
यी सबै कुरासँग उनलाई कुनै मतलब छैन । उनी त कयौं सन्तानकी आमा हुन् । उनी हुन्- पार्वती गुरुङ । रगतभन्दा भावना र संवेदनाको नाता गाढा हुन्छ । अहिलेसम्म आफ्नै कोखबाट सन्तान जन्मेको छैन । तर, आफूले स्याहारेका सन्ततीको भविष्यबारे दैनन्दिन सपना देख्छिन् उनी ।
उनका सपनाका खण्ड-खण्डमा १३ जना छोरा-छोरीले आफ्नो सुन्दर जीवनको प्लानिङ गर्दैछन् । पार्वती गुरुङका काखमा हुर्किरहेका छन्, । उनले नजन्माएका अनेक जात र थरका बचेराहरू, जो हुर्किएर पछि आकाशमा उड्नेछन् । त्यो उनको सपना पनि हो ।
| रगतभन्दा भावना र संवेदनाको नाता गाढा हुन्छ । अहिलेसम्म आफ्नै कोखबाट सन्तान जन्मेको छैन । तर, आफूले स्याहारेका सन्ततीको भविष्यबारे दैनन्दिन सपना देख्छिन् उनी । |
किन बन्छन् नामहरू उनीहरूलाई थाहा छैन । तैपनि ती घरका नाम छन् । ती नाम नदीका नामबाट जुराइएका छन् । यो घरको नाम हो- अरुण । जहाँ सोमबार खुबै खुसियाली छाएको छ । मुसुमुसु हाँस्दै पार्वतीले भनिन्, ‘मेरा दुई सन्तानले हिजै मात्र प्रवेशिका पास गरे ।’ यी आमाका केही सपना पूरा त भए ।
उनैले हुर्काएका अनिता थापा र राकेश तामाङले एसएलसी पास गरेका हुन् । बालग्रामको बीचमा सांस्कृतिक कार्यक्रम चलिरहेको थियो । आमाबिनाको रमाइलोको कुनै अर्थ थिएन । छोरा-छोरीले बोलाइरहेका थिए, ‘आमा आउनुस् है !’
यी आमाको काखमा छिन्, सबैभन्दा कान्छी छोरी काजोल शर्मा । भर्खरै चार वर्षकी पुगेकी काजोल बिछट्टै चञ्चल छिन्, जुरेलीजस्तै । घरमा अपरिचित जोसुकै पुगोस्, उनको उन्मुक्तता साँघुरिँदैन । काजोल हाँस्छिन्, रमाउँछिन् ।
पार्वतीले काजोलको कपाल मुसार्दै भनिन्, ‘यहाँ आउँदा मात्र २२ दिनकी थिई, यो छोरी’ । जन्म कसले दियो ? पार्वतीलाई यसको कुनै मतलब छैन । काजोल उनको गुँडमा छिन् । पखेटा हालिदिनु उनको सपना हो ।
पार्वतीका ममतामयी औंलाले काजोलका कपालका फेद सुसुम्याइरहेका थिए । काजोललाई यसको के मतलब उनी त घरीघरी गन्गनाउँथिन् । ‘मामु ! श्याम दाइलाई त म माया गर्दिनँ,’ तोतेबोलीमा पार्वतीको चिउँडो कोट्याउँदै काजोलले सुनाइन् ।
काजोलका दाइ-दिदी गलल्ल हाँसे । बालकहरू गल्ती गर्न लाइसेन्सप्राप्त हुन्छन् । उनीहरूको बचपनामा एउटा मीठो स्वर्ग लुकेको हुन्छ । त्यो स्वर्गमा फिस्स हाँसिन्- पार्वती । ‘रमाइलोको कुदाकुदमा श्यामको पछि दौडँदै गर्दा लड्न पुगिछ,’ यसरी श्याम दाइ र काजोलको झगडाको रहस्य पार्वतीले खोलिन्, ‘त्यसैले श्यामलाई माया गर्दिनँ भन्छे ।’
उनले हुर्काएका १३ सन्तानमध्ये तीनजनाले घर छोडिसकेका छन् । प्रवेशिका उत्तीर्णपछि छोराहरूलाई युथ फ्यासिलिटी होस्टलमा पठाइन्छ । सोमबार एसओएस दिवस परेकाले होस्टल बस्ने छोरा-छोरी पनि आएका थिए । उनले हुर्काएको जेठो छोरा नारायणसुन्दर सोनेपा काठमाडांै विश्वविद्यालयमा कम्प्युटर इन्जिनियरिङमा ब्याचलर गर्दैछन् । कुरा गर्दा आमाको छेउमा थपक्क बसे, श्यामसुन्दर । ‘आमाले यतिसम्म बनाइदिनुभो,’ सोनेपाले भावुक हुँदै भने, ‘अब मैले आमा र देशका लागि केही गर्न बाँकी छ ।’ पार्वतीका जेठी छोरी सोविना र माइलो छोरा प्लस टु पढ्दैछन् । कान्छा छोरा विकास राना दुई कक्षामा पढ्दैछन् । कान्छी छोरी काजोललाई भने स्कुल पठाउन थालिएको छैन ।
पार्वतीसँग अहिले घरमा दसजना छोरा-छोरी बस्छन् । तीन छोरा होस्टलमा गएका छन् । मुख्य चाडपर्वमा परिवारका सबै जम्मा हुन्छन् । ‘तिजमा कस्तो रमाइलो हुन्छ,’ पार्वतीकी छोरी सोविनाले भनिन्, ‘बालग्रामभरिका छोरीहरू तिजमा एकैथलोमा जम्मा हुन्छांै र रमाइलो गर्छौं ।’ सोविना एसओएस कलेजमै पढ्छिन् । सबैजना बेलुकी घरको बैठकमा बसेर रमाइलो गर्छन् र दंग पर्छिन् पार्वती । ‘बेलुकी होमवर्क सकेपछि कथा सुनाउने र अन्ताक्षरी खेल्ने होडबाजी नै चल्छ,’ पार्वतीले सुनाइन् ।
३६ वर्षीया पार्वती एक आमा हुन् जसले कुनै सन्तानलाई जन्म दिएकी छैनन् । तर, उनको दैनिकी कुनै पारंगत आमाको भन्दा भिन्न छैन । उनको बिहे नै भएको छैन । बिहे गर्ने योजना पनि छैन । के बिहे नगरेर उनी दुःखी छिन् ? उनले भनिन्, ‘अहँ म औधि सुखी छु । ममताका सामु सबै दुःख पराजित हुन्छन् ।’
उनले सोलुखुम्बुदेखि आएर आफूले नजन्माएका सन्तानकै लागि ११ वर्ष बिताइन् । उनका बाँकी सबै दिन यसैगरी बित्नेछन् । यसमा शंका न त पार्वतीलाई छ, न त अरूलाई । बालग्रामले आमाहरूको रिटायर्ड-लाइफका लागि हजुरआमा घरको बन्दोबस्त गरिसकेको छ । उनी पनि त हजुरआमा हुन्छिन् नै, के छ उनको योजना ? ‘६० वर्ष नाघेपछि हजुरआमा बनेर बसौंला,’ उनले भनिन्, ‘अहिलेलाई यिनीहरूलाई हुर्काउन लाग्छु ।’
रामशरण बजगाइँ (साभार :नया पत्रीका )