‘म शोभराजकै लागि जन्मेकी हुँ’
July 6, 2008६४ वर्षीय अन्तर्राष्ट्रिय अपराधी चाल्र्स शोभराजकी २० वर्षीया नेपाली प्रेमिका निहिता विश्वास अहिले राष्ट्रिय/अन्तर्राष्ट्रिय मिडियामा छाएकी छन् । उनले आफ्नो प्रेमीको बचाउ र प्रेमको पुष्टि गर्दै नयाँ पत्रिकासँग शनिबार राति खुलेर कुरा गरिन् :
तपाइं र चाल्र्स शोभराजको ‘लभ अफेयर’ मिडियामा तातो विषय बनेको छ, तपाईंलाई कस्तो लागेको छ ?
तपाईं मिडियाका मान्छेलाई मात्र अनौठो लागेको हो, मलाई त स्वाभाविक लागेको छ । मैले उनलाई देखेँ, उनको व्यवहार हेरेँ, म निकै प्रभावित भएँ । उनी पनि मबाट प्रभावित भए, हामीबीच प्रेम बस्यो । कुरा यत्ति हो, तर हाम्रो प्रेमलाई मिडियाले अनावश्यक प्रचार गरे ।
तर, तपाइं भर्खर २० वर्षको हुनुहुन्छ, ६४ वर्षको वृद्ध मान्छेसँग प्रेममा पर्नुभयो, यसलाई मिडिया र समाजले सामान्य कसरी मान्न सक्छ ?
हो, म २० वर्षकी छु, उनी ६४ वर्षका । तर, तपाइंलाई सोध्न चाहन्छु- मान्छेको मन, चाहना र विश्वास नाप्ने मापदण्ड उमेर हो ? तपाइंलाई कसले सिकायो यो सब ? तपाइंको उमेरबारे मैले चासो राखेकी छु र ? म कति वर्षको भएँ भनेर चासो राख्नुपर्ने के छ तपाइंले ? यो सब मैले बुझेको छैन । मेरो भविश्यबारे सोच्ने र निर्णय गर्ने क्षमता र अधिकार मसँग छ । मिडियाले प्रश्न उठाइरहनुपर्ने केही छैन । तपाइं आफ्नो काम गर्नोस् । मेरो चिन्ता नगर्नोस् । बस्, यति सोच्नोस्- म एउटी परिपक्व केटी हुँ ।
६४ वर्षको मान्छेसँग बिहे गर्न त नेपालको कानुनले छुट दिँदैन । यसमा कमजोरी तपाईंको कि मिडियाको ?
‘आजीवन जेलमै रहे पनि म उनलाई पर्खनेछु’

नेपालको कानुनबारे हामी दुवैलाई थाहा छ, यसबारे पनि टाउको दुखाउनुपर्दैन । हाम्रो उमेरअन्तरका कारण नेपालमा बिहे गर्न मिल्दैन, त्यसैले फ्रान्समा बिहे गर्ने योजनामा छौँ । नेपालको कानुन के छ, हामीलाई चिन्ता छैन, फ्रान्समा हाम्रो बिहे स्वीकार्य हुन्छ, कानुनी रूपले र सामाजिक रूपले पनि ।
तर, शोभराजविरुद्ध हत्याजस्तो गम्भीर अपराधको अभियोग लागेको छ, उनको अपराध काठमाडौं जिल्ला र पुनरावेदन अदालतबाट पनि पुष्टि भइसकेको छ । उनी जेलबाट कसरी छुट्लान् र तपाईंहरूको बिहे होला ?
हेर्नोस्, मिडिया पनि पूरै हल्लाको पछाडि रहेछ । मलाई निकै दुःख लाग्यो । शोभराजलाई जुन घटनामा दोषी मानिएको छ, त्यो घटना हुँदा उनी नेपाल आएकै थिएनन् । नेपालमै नभएको मान्छेले यहाँ कसरी हत्या गर्न सक्छ ? यहाँ नक्कली ‘डकुमेन्ट’ बनाएर उनलाई फसाइएको छ । तर, नेपालको सर्वोच्च अदालतप्रति हामीलाई विश्वास छ- शोभराजलाई निर्दोष सावित गरेर जेलमुक्त गरिनेछ ।
तर, ३२ वर्षअघि जतिबेला शोभराजले नेपालमा पर्यटक युवतीको हत्या गरे, त्यतिबेला तपाईं जन्मनुभएको पनि थिएन । तपाइं यति विश्वासका साथ कसरी भन्न सक्नुहुन्छ कि उनी त्यतिबेला नेपालमै आएका थिएनन् ?
मैले प्रमाणका आधारमा भनेकी हुँ । प्रहरीले अदालतमा पेस गरेका कागजात नक्कली हुन् । नक्कली कागजातका आधारमा नेपालमा फसाउन खोजिएको छ ।
शोभराजलाई अन्तर्राष्ट्रिय अपराधी मानिन्छ, उनीविरुद्ध विश्वका विभिन्न अदालतमा मुद्दा चलिरहेका छन् । नेपाली जेलबाट मुक्ति पाए पनि अन्य देशले उनलाई छाड्ने सम्भावना देखिँदैन, तपाइं कसरी आशावादी हुनुहुन्छ ?
आशावादी होइन, म ढुक्क छु । उनी निर्दोष छन्, उनी स्वतन्त्र हुनेछन् । नेपालमा नक्कली कागजात बनाएर फसाउन खोजिएको हो, तर विदेशमा यस्तो चल्दैन । विदेशमा त प्रमाण चाहिन्छ । उनले अपराध गरेको प्रमाण कहीँ पनि छैन । त्यसैले म ढुक्क छु- नेपाली अदालतबाट उन्मुक्ति पाएपछि सबै ठीक हुन्छ ।
शोभराजलाई सर्वोच्च अदालतले पनि सफाइ दिएन र जन्मकैदको फैसला गर्यो भने तपाईं के गर्नुहुन्छ ?
म त्यस्तो सोच्नै सक्दिन । हेर्नोस्- सत्य जहिले पनि सत्य हुन्छ र सत्यको विजय हुन्छ ।
तैपनि एकैछिनलाई मानौँ, उनी जेलबाट छुटेनन् भने तपाई आफ्नो जिन्दगी उनकै नाममा समर्पित गर्नुहुन्छ ?
‘पहिलो प्रेम प्रस्ताव कसले राख्यो, हामी दुवैलाई थाहा छैन’

‘अफकोर्स !’ मलाई उनीप्रति यति धेरै विश्वास छ- उनी निर्दोष छन् र निर्दोष मान्छे दण्डित हुँदैन । सफाइ पाएर उनी बाहिर आउन्जेल म उनकै प्रतीक्षामा रहनेछु ।
शोभराज तपाइंको पहिलो प्रेमी हुन् ? स्कुल/कलेजमा अरू कसैलाई मनपराउनुभएन ?
तपाइंले सायद सुन्नुभएन- म भर्खरै प्लस टु सकेकी विद्यार्थी हुँ । स्कुल भर्खरै सकेकी केटीले कति ठाउँ प्रेम गर्न भ्याउँछे ? यो तपाइं आफँले सोच्ने कुरा हो । तपाइंको जानकारीका लागि म भन्छु- म ‘नर्मल’ मान्छेका लागि उपलब्ध हुने केटी होइन । शोभराज असाधारण मान्छे हुन् । त्यसैले उनीसँग प्रेम बस्यो । उनको व्यवहार र हाम्रो सम्बन्ध देख्दा लाग्छ- म शोभराजकै लागि जन्मिएकी हुँ । उनी ‘लभिङ’ छन्, ‘केयरिङ’ छन् । सबैभन्दा ठूलो कुरा ‘सिन्सियर’ छन् । त्यसैले म भन्छु- शोभराजको प्रेमिका बन्न पाएकोमा म गर्व गर्छु ।
तपाईंहरूबीच प्रेम कसरी सुरु भयो ?
उनलाई दोभासे चाहिएको रहेछ, यसका लागि उनले मान्छे खोजेका थिए । मलाई त्यो जागिर आकर्षक लाग्यो । त्यसैले जागिर खोज्दै उनलाई भेट्न गएँ । ढिलो भएकाले जागिर त पाइनँ, तर शोभराजको प्रेम पाएँ । पहिलो भेट र कुराकानीबाटै म अति प्रभावित भएँ ।
प्रेमप्रस्ताव कसले राख्यो, तपाईंले कि शोभराजले ?
पहिलो भेटबाटै हामी एकअर्काप्रति प्रभावित भयौँ । भावनात्मक रूपले नजिक भयौँ र प्रेममा पर्यौँ । प्रस्ताव कसले राख्यो, हामी दुवैलाई थाहा छैन । भन्नोस् न, प्रेम आफसे आफ भयो ।
तपाईं यति धेरै प्रभावित हुनुभएछ, शोभराज निकै प्रभावशाली रहेछन् है !
पक्कै पनि । हि इज माइ राइट च्वाइस । मिडियाले मात्र नकारात्मक प्रचार गरेका हुन् । नत्र त म मात्र होइन, तपाईं आफँले पनि भेटेर कुरा गर्नुभयो भने पनि प्रभावित हुनुहुन्छ । उनी निर्दोष, मायालु र प्रभावशाली छन् ।
तर, तपाइंजस्तै अरू केटीलाई पनि उनले ‘प्रभावित’ पारेको खबर सुनिन्छ । उनलाई भेट्न केन्द्रीय कारागारमा धेरै केटी धाउँछन् रे नि ?
उनी राम्रा मान्छे हुन् । त्यसैले धेरै शुभचिन्तक जान्छन् होला । त्यसमा मलाई टाउको दुखाउनु छैन ।
फ्रान्समा त उनकी श्रीमती पनि छन्, दोस्री श्रीमती बन्नुहुन्छ तपाइं ?
उनकी श्रीमती थिइन्, तर अहिले छैनन् । पूर्वश्रीमतीलाई उनले छाडिसकेका छन् । यसैमा उनी खुसी छन् ।
तर, शोभराजका नेपाली वकिलहरूले श्रीमतीसँग उनको नियमित फोन संवाद भइरहेको बताएका छन् नि ?
श्रीमतीको रूपमा नाता टुट्नासाथ मानवीय सम्बन्ध पनि टुट्छ र ? उनीहरू एकअर्काप्रति सद्भाव राख्छन्, मित्रता राख्छन् भने त्यसलाई तपाइं हामीले अन्यथा मान्न मिल्दैन ।
| ‘प्रेम भनेको प्रेम हो, उमेरसँग के मतलब ?’ |
![]() |
हाम्रो समाज कस्तो छ भन्ने तपाइंलाई थाहा छ । मेरो प्रेमी शोभराज हो भन्ने सुन्दा मेरी आमा स्तब्ध हुनुभयो । उहाँलाई लिएर जेल गएँ । आमाले शोभराजलाई भेट्नु भो, कुरा गर्नुभयो, त्यसपछि उहाँ पनि खुसी हुनुभयो । छोरीको रोजाइप्रति आमालाई पनि गौरब छ ।
तपाइंले मिडियाप्रति आक्रोश पोख्नुभयो, तर दुई/तीन दिनअघिसम्म तपाईं केवल निहिता हुनुहुन्थ्यो, अहिले शोभराजकी प्रेमिकाका रूपमा अन्तर्राष्ट्रिय चर्चा पाउनुभएको छ, मिडियाले नै तपाइंलाई ‘सेलिब्रिटी’ बनायो, होइन र ?
होइन, मलाई यस्तो चर्चाको आवश्यकता नै थिएन । म हिजो पनि निहिता विश्वास थिएँ, आज र भोलि पनि यही नाममा चिनिन चाहन्छु । पहिलेदेखि नै मेरो परिवार, मेरो समाज र मेरो स्कुलमा म सभ्य, क्षमताशील र इमानदार केटीका रूपमा चिनिएकी छु । अन्य प्रसंग जोडेर चर्चित हुन मलाई आवश्यक छैन । यो प्रचार मेरो चाहनाले होइन, मिडियाले गराएको हो ।
तपाईंकी आमा मानवअधिकारवादी नेतृ हुनुहुन्छ रे, स्कुल र परिवारबारे जानकारी दिन चाहनुहुन्छ ?
हो, मेरी आमा मानवअधिकारवादी नेतृ हुनुहुन्छ । उहाँ सामाजिक रूपले प्रतिष्ठित नारी हुनुहुन्छ । म त्यति मात्र भन्छु । अरू कुरा तपाइं पत्रकारहरूलाई बोलाएर भन्नेछु, त्यो दिन पर्खनोस् ।
तपाइं बिहे गरेर फ्रान्स जाने भन्नुहुन्छ, जीवन यता बिताउनुहुन्छ कि उता ?
दुवैतिर । म उता पनि काम गर्छु, यता पनि गर्छु ।
पत्रकार बन्ने योजनामा हुनुहुन्छ, हो ?
त्यो पनि नभनौँ । भर्खरै प्लस टु सकेकी छु । हेरौँ, के के हुन्छ ।
प्रस्तुति: उमेश चौहान(from:nayapatrika)
