‘भानुभक्तको सुटिङ छाडेर झन्डै इन्डिया भागेँ’
July 13, 2008कम्मर मर्काउने मामिलामा उनलाई उछिन्न सक्ने अर्को हिरो ‘इन्डस्ट्री’मा सायदै होलान् । उनले नाम र दाम जे-जति कमाए, कम्मर मर्काएर नै कमाए । उनको लचकताको ‘डिमान्ड’ बजारमा अझै घटेको छैन । त्यसैले त उनी शनिबार पनि ‘छायाँ’ फिल्मका लागि दिनभर भृकुटीमण्डपको बगैंचामा कम्मर मर्काइरहेका थिए । अहिले यस्तो चक्लेटी ‘इमेज’ बनेर के भो र ? उनको इन्ट्री भने गम्भीर फिल्मबाट भएको थियो । जसमा उनले कम्मर मर्काएनन्, श्लोक वाचन गरे । फिल्मको नाम हो, ‘आदिकवि भानुभक्त’ र उनी हुन् दिलिप रायमाझी । भानुजयन्तीको अवसरमा ‘भानु-संवाद’ गर्न उनले सुटिङबाट केही मिनेट ब्रेक लिए ।
भानुभक्तको ‘रोल’मा प्रस्ताव गरिएको पहिलो कलाकार तपाईं नै हो त ?
होइन, पहिले, हरिवंश आचार्यलाई दिने भनिएको रहेछ । तर, एउटै मान्छेले १६ देखि ५४ वर्षसम्मको भानुभक्त बन्नुपर्ने अवस्था थियो । हरि दाइलाई १६ वर्षको देखाउन सम्भव थिएन । त्यसैले उहाँले खेल्न नमिल्ने भएको रहेछ ।
त्यसपछि तपाईंलाई नै किन खोजियो ?
हरि दाइसँग मेरो अनुहार मिल्थ्यो । उहाँले नै मेरो नाम प्रस्ताव गर्नुभएको थियो । उहाँसँग चिनजान भएको चाहिँ एउटा स्टेज-कार्यक्रममा डान्स गर्दा हो ।
अनुहार मिल्नेबित्तिकै तपाइं छानिनुभयो ?
त्यसपछि मेरो स्क्रिन-टेस्ट लिइयो । मेकअप गरियो । मैले संस्कृत श्लोकहरू वाचन गरेर सुनाइदिएँ । त्यतिले पनि नपुगेर भानुभक्तमाथि लेखिएको बालकृष्ण समको नाटकको एउटा खण्डमा अभिनय गरेर देखाइदिएँ । अनि, बल्ल छानिएँ ।
छानिएपछि के गर्नुभयो ?
मैले स्कुलमा अलिअलि संस्कृत पढेको थिएँ तर निपुण थिइनँ । त्यसैले संस्कृत उच्चारण सिक्न थालेँ । भानुभक्तका श्लोकहरू कण्ठ गरेँ ।
| त्यो साँझ मैले भोलिपल्ट फिल्म छाड्ने र भाग्ने विचार गरेँ । नेपालमै बस्यो भने खोजिहाल्छन् त्यसैले इन्डिया जाने भनेर योजना बनाएँ । |
बनारसमा भानुभक्तले आफूलाई परिचय दिने बेला वाचन गरेको श्लोक मलाई कण्ठ छ । त्यो यस्तो छ :
पहाडको अति बेस देश तनहुँमा
श्रीकृष्ण ब्राम्हण थिया
खुब उच्च कूल आर्यवंशी हुनगई
सत्कर्ममा मन दिया
विद्यामा पनि जो धुरन्धर भई
शिक्षा मलाई दिया
उनका नाति म भानुभक्त भनिकन हुँ
यो जानी चिनिलिया ।
तपाईंलाई सुटिङ गर्दा एकदम गाह्रो भएको श्लोक कुनै थियो कि ?
सुटिङ लगभग सिद्धिने बेलामा यादव सरले भानुभक्तले आफैंले लेखेको सक्कली चिठी फेला पार्नुभएछ । त्यसपछि त्यो चिठी पढेको दृश्य खिच्ने कुरा भो । अघिपछि अरूले लेखेर दिएका श्लोक सजिलै कण्ठ भएको थियो । तर, त्यो सक्कली चिठी कण्ठ गर्न साह्रै गाह्रो भएको थियो । त्यसपछि मैले त्यसलाई सुत्नेबेला तकियामुनि राख्न थालेँ र फुर्सद हुनासाथ पढिहाल्ने गर्थेँ ।
भानुभक्तमा देखिने तपाइंको जुँगा सक्कली हो कि नक्कली ?
नक्कली हो । बूढो भानुभक्तसम्म एकैनासे जुँगा देखाउन नक्कली टाँसिएको हो । मेरो जुँगा नपलाएर भने होइन किनभने त्यतिबेला म २० वर्षको भइसकेको थिएँ ।
तपाईं त डान्सर मान्छे, यस्तो गम्भीर रोलमा काम नगरूँजसो लागेन ?
मलाई त होइन, केही साथीहरूले चाहिँ यस्तो रोलमा काम नगर, अर्कै ‘इमेज’ बन्छ भनेर सतर्क गराएका थिए । तर, मैले कसैको सुनिनँ ।
यो ‘आदिकवि भानुभक्त’ फिल्मले तपाईंको करिअरमा के फाइदा पुर्यायो त ?
यो फिल्म खेल्न पाएकोमा म गौरवान्वित छु । यही फिल्मले गर्दा स्कुलको कोर्समा समेटिन म सफल भएको छु । धेरैलाई थाहा छैन होला, धेरै स्कुलका केटाकेटीहरूले इंग्लिस किताबमा मेरोबारे पढ्छन् ।
सुटिङमा भानुभक्त बन्न कति गाह्रो भयो ?
सुटिङको पहिलो दिन मेरो संवाद सिद्धान्तराम जोशीसँग थियो । उहाँलाई मैले रेडियोमा सानैदेखि सुन्दै आएको थिएँ । त्यतिबेला म हतोत्साहित भएँ । नसकिने भो भन्ने लाग्यो । मिडियामा मेरो धेरै चर्चा भइसकेको थियो । त्यसैले फिल्मबाट निकालियो भने बेइज्जत हुन्छ भन्ने ठानेँ । त्यो साँझ मैले भोलिपल्ट फिल्म छाड्ने र भाग्ने विचार गरेँ । नेपालमै बस्यो भने खोजिहाल्छन् त्यसैले इन्डिया जाने भनेर योजना बनाएँ ।
कसरी रोकिनुभयो ?
भोलिपल्ट बिहान यादव खरेल सर आउनुभो र भन्नुभो, ‘हिजोको दृश्य सबैभन्दा गाह्रो दृश्य थियो, तर तिमीले ठीकै गर्यौ । तिमीले सक्छौ ।’ उहाँले त्यसो भन्नुभएपछि म किन भाग्थेँ र !
त्यसपछि सजिलै भो ?
एकपटक गाह्रो भो । भानुभक्तलाई जलाएकै ठाउँमा चित्ता बनाइयो र मलाई लेट्न लगाइयो । त्यतिबेला पुरोहितहरू पनि सक्कली बोलाइएको थियो । मलाई त्यतिबेला किन किन एकदम डर लाग्यो । चित्ता जलाउने बेला म नै बस्ने त कुरा थिएन । म उठेँ । पुत्ला राखेर जलाइयो । तर, सुटिङ हेर्न आउने गाउँलेहरू भने ‘छ्या नक्कली पो जलायो’ भन्दै निराश भएर फर्किए ।
बिर्सन नसकिने अर्को घटना छ ?
भानुभक्तले प्राणत्याग्ने दृश्यमा मेरो हात-खुट्टा बाँउडिएको थियो । अनुहार पनि नचल्ने भएको थियो । सुटिङपछि धेरैले मलाई तन्काए, मालिस गरे । तर, म ठीक भइनँ । त्यतिबेला एउटी बज्यैले भन्नुभएको थियो, ‘बाबुको जिउमा भानुभक्त चढेछ ।’
भानुभक्त र तपाईंबीच के समानता छ ?
म पनि घाँसीबाट प्रेरित भएको मान्छे हुँ । स्कुलमा भानुभक्तबारे पढेदेखि घाँसीले भनेजस्तै नाम कमाउन पाए हुन्थ्यो भनेर म सोच्ने गर्थेँ ।
अनि, नमिल्ने पक्षचाहिँ ?
भानुभक्तजस्तो गम्भीर छैन म । एकदम हाँसखेल गर्छु म ।
त्यसो भए तपाई उत्ताउला भानुभक्त ?
उत्ताउला त हो, तर नराम्रो कामचाहिँ गर्दिनँ नि !
भानुभक्तको एउटा गुण लिनुपरेमा के छान्नुहुन्छ ?
उनी आदिकवि मात्र होइनन्, आशुकवि पनि हुन् । आफ्नो प्रतिभालाई तुरुन्तै फुराउन सक्ने कला ममा छैन । त्यो कला ममा भइदिएको भए हुन्थ्यो ।
भानुभक्तलाई मोतीराम भट्टले चिनाए, तपाइंलाई चाहिँ ?
मेरो जीवनका मोतीराम भट्ट थुप्रै छन् । एउटै मान्छेको नाम लिन मिल्दैन । तर, बढी श्रेय तुलसी घिमिरे र नारायण पुरीलाई जान्छ ।
त्यो जमानामा काठमाडौंको गुणगान गर्ने भानुभक्तले अहिलेको काठमाडौं देखेको भए के हुन्थ्यो होला ?
उनले गुणगान होइन, गाली गर्थे होलान् तर, कवितामै ।
तपाइंले अहिलेसम्म कविता लेख्नुभएको छ ?
लेखेको छैन । ‘भानुभक्त’को सुटिङ गर्ने बेला मैले धेरै साहित्यकार भेट्ने अवसर पाएँ । उहाँहरूले भन्नुहुन्थ्यो, ‘एउटा झिल्को सल्किनुपर्छ, त्यसले सबैतिर आगो लगाइदिन सक्छ ।’ मेरो सवालमा भन्ने हो भने, त्यो झिल्को नै सल्किएको छैन ।
प्रेमपत्र पनि लेखिएन ?
अहँ, लेखिनँ । म अरूलाई लेख्न लगाउँथेँ ।
तपाइंलाई भानुजयन्तीका दिन कार्यक्रम आयोजकहरूले कत्तिको बोलाउने गर्छन् ?
बोलाउँछन् । सिक्किम र दार्जिलिङमा समेत भानुजयन्तीको अवसर पारेर मलाई स्थानीय समुदायले सम्मान गरेका छन् ।
भानुभक्त फिल्म खेल्दाका दिनहरू र भानुभक्तको झझल्को तपाइंलाई सधैं आइरहन्छ ?
सधैं आउँदैन । साहित्यिक जमघट र भानुभक्तको सालिकमा पुग्दा र भानुजयन्तीको दिन मलाई पुराना दिन याद आउँछ ।
भानुभक्तले लगाउने बिर्के टोपी तपाइर्ंले सुटिङमा त लगाइहाल्नुभोे । सुटिङ सिद्धिएपछि अरू बेला लगाउनुभयो कि भएन ?
धेरै त लगाइनँ । विदेशका स्टेज-कार्यक्रममा एक/दुईपटक लगाएको छु ।
स्टेजमा भानुभक्तको अभिनय पनि गर्नुहुन्छ ?
गर्दिनँ । अहिलेसम्म गरेको छैन ।
भविष्यमा कसैले फेरि भानुभक्तमाथि फिल्म बनाउँदा तपाइर्ंलाई नै अफर गर्यो भने ?
म एकदम गर्वका साथ फेरि भानुभक्त बन्न तयार हुनेछु ।
भानुभक्तको सुटिङ रम्घामै भएको हो ?
हो, उनकै पुरानो घरलाई फेरि निर्माण गरेर सुटिङ गरिएको थियो ।
त्यो गाउँमा तपाईं फर्केर जानुभएको छ ?
केही महिनाअघि मात्र म त्यहाँ गएर आएँ । पुराना कुराहरू सम्झनलाई । तर, वरिपरिका गाउँमा सडक पुगिसकेको छ, भानुभक्तको गाउँमा पुगेको छैन । त्यति चार किलोमिटर बाटो पनि पिच नभएको देख्दा दुःख लाग्यो । त्यो गाउँलाई शैक्षिक भ्रमण र पर्यटकीय स्थलका रूपमा विकास गर्न म नेताहरूलाई अनुरोध गर्छु ।(from:nayapatrika)