मह जोडी हिरो
August 5, 2008प्रायः फिल्ममा श्रीकृष्ण श्रेष्ठलाई मुख्य भूमिकामा अभिनय गराउँथे शिव रेग्मी । अब उनको फिल्ममा अभिनय गर्ने पालो आएको छ- मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको । साथै, नयाँ फिल्म रोनाधोनामुक्त हुने जानकारी दिए उनले । पुरानो शैलीको चलचित्र बनाउँछु भनेर त कसले भन्छ र ? तर, रेग्मीले कारण देखाए, ‘दर्शकले कसरी हेर्लान् त्यो पछिको कुरा हो । तर, मेरा लागि चाहिँ नयाँ किसिमको हुनेछ सो चलचित्र ।’ चलचित्रको न्वारान नभइसके पनि सो चलचित्रमा हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको प्रमुख भूमिका रहने पक्कापक्की भइसकेको उनले सुनाए । यी दुई अनुहारलाई एकैसाथ चलचित्रमा उभ्याउने उनको जमर्को निकै अघिदेखिको रहेछ । तीन वर्षअगाडि फुरेको सोचलाई ‘मह’को व्यस्तताका कारण पूरा गर्न नसकेको उनले बताए । ‘बल्ल साइत जुर्यो । तिहारपछि छायांकनमा उत्रन्छौँ,’ रेग्मीले नयाँ पत्रिकासँग भने ।
हास्यकलाकारिताका हस्तीहरूलाई अभियन गराएपछि त चलचित्र ‘हास्यप्रधान’ नै त होला नि ? यो अनुमानको विषयमा उनी खुल्न चाहेनन्, ‘सबै कुरा सुनाउने समय भएको छैन । तर, उहाँहरूलाई खुब सुहाउने भूमिकामा प्रस्तुत गरिनेछ ।’ ‘मह’को छवि हास्यभूमिकामा जमेको छ भन्दैमा आफू सो शैलीलाई महत्त्व दिने पक्षमा छैन भन्छन् उनी । ‘सुख-दुःखमा पनि त मदनदाइलाई नहसाएरै हिट बनाएको हुँ । त्यसैले हास्यकलाकारलाई राखेपछि हसाउनै पर्छ भन्ने छैन । उनीहरूको अर्को रूपलाई पनि उजागर गर्न सकिन्छ’ भन्छन् उनी ।
यी दुई जोडीको साथमा कस्ता कलाकार रहनेछन् भन्नेबारेमा निर्णय नभएको रेग्मीले बताए । तर, चल्तीका ‘स्टार’को सहभागिता नहुने उनको भनाइ छ । यसपटक मदनकृष्णको साथमा हरिवंशको समेत सहभागिता पाउने भएका छन् उनले । त्यसैले रेग्मीले विश्वास देखाए, ‘सुख-दुःखको सफलतालाई यसले जित्ला कि ।’ उनी चलचित्रको विषयबारे भने त्यति खुल्न चाहेनन् । ‘यो मायाको खेती गर्ने चलचित्र हुनेछ,’ उनले भने । रमेश तोयना र राजु सिंघमिखाको निर्माणमा बन्न लागेको सो चलचित्रमा सुरेश अधिकारीको संगीत रहनेछ भने आलेखमा निर्देशक रेग्मीलाई सहयोग गरिरहेका छन् विकास आचार्यले ।(from:nayapatrika)