सभासद्लाई बस

September 23, 2008

काठमाडांै/ संविधानसभा सदस्यको सुविधाका लागि भारत सरकारले ३२ सिट क्षमताका पाँच वटा बस प्रदान गरेको छ । भारतीय राजदूत राकेश सुदले सभामुख सुवास नेम्वाङलाई सोमबार संविधानसभा भवनमा ती बसको साँचो हस्तान्तरण गरे ।
सो अवसरमा अध्यक्ष नेम्वाङले संविधानसभाको गतिविधिलाई व्यवस्थित एवं प्रभावकारी तुल्याउन सहज होस् भन्ने उद्देश्यले सहयोग माग गरिएको उल्लेख गर्दै बस प्रदान गरेकोमा भारत सरकारलाई धन्यवाद दिएका थिए ।
राजदूत सुदले नेपालमा शान्ति, दिगो राजनीतिक तथा आर्थिक स्थिरता कायम गर्न भारत सदैव सहयोगीको भूमिका निर्वाह गर्न तयार रहेको यस उपहार सहयोगबाट समेत स्पष्ट हुने बताए । नेपालका विभिन्न क्षेत्रमा दुई सय ३० करोडभन्दा बढीको भारतीय लगानीमा दुई सय ९० बढी साना-ठूला योजना सञ्चालन भइरहेको सो अवसरमा वितरित प्रेसविज्ञप्तिमा उल्लेख छ ।
यसैगरी, संविधानसभा चुनाव सफल तुल्याउन सवारीसाधन, सञ्चारसामग्री, विद्युतीय मतदान यन्त्रलगायत शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने उद्देश्यका साथ दुई करोड ७० लाख रुपैयाँबराबरको भौतिक सहयोग भारतले प्रदान गरेको पनि विज्ञाप्तिमा जनाइएको छ ।<from:nayapatrika.com>