छोरा भेट्न नपाएपछि रोए प्रधानमन्त्रीका पिता

March 17, 2009

डेढ वर्षअघि राजधानी आएका मुक्तिरामले सुरुका केही महिना नयाँबजारस्थित डेरामा सँगै बस्न पाएको र त्यसयता छोरा भेट्नै नपाएको गुनासो गर्दै आँशु बगाए 

  

रुबी रौनियार, काठमाडौं, चैत ४

भींडको माझमा वृद्ध आँखाले चारैतिर छोरालाई खोजिरहेको थियो। त्यतिकैमा उदघोषक प्रकाश न्यौपानेले ती वृद्धलाई देख्छन् र निम्त्याउँछन् मञ्चमा। यी वृद्ध अरु कोही नभई, एकीकृत माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालका पिता मुक्तिराम हुन्।
´ज्वाईंले आज छोरो कीर्तिपुर आउँछ भनेर सुनाएपछि भेट्न आएको हूँ´– उनले दैनिकीसँग कुरा गर्दै भने।  
त्रिविवि परिसरमा निकै बेर कुर्दा पनि छोरा नआएपछि उनी आँत्तिन थाले। कुर्दाकुर्दै खबर आइपुग्यो– ´प्रधानमन्त्री नआउने भए।´
वृद्धको दुबै आखा आँशुले भरियो। एउटा हातले आँशु पुछ्दै पिता मुक्तिराम दहाल भन्दै थिए– ´हतार हतार खाना खाएर बाबु यहाँ आउछ भनी भेट्न आएको थिएँ।´  
कुराकानीका क्रममा उनले आफूलाई चुनाव र प्रचार प्रसारका बारेमा केही कुरा थाहै नभएको बताए। ´कसैले निम्तो पनि दिएको थिएन, छोरा यता आउँछ भनेपछि सरासर आएको हूँ´– उनले भने।
कुराकानीका क्रममा उनी थुप्रै पटक आँशु झार्दै रोएका थिए।      
´डेढ वर्ष अघि काठमाडौं आएपछि सुरुका केही महिना नयाँबजारको घरमा सँगै थियौं´, उनले भने, ´त्यसयता भेट्नै पाएको छैन।´
छोरा ´मन्त्री´ भएपछि नयाँ घरमा सरेको र आफूलाई त्यहा जान मन नलागेको बताउँदा उनको अनुहार दु:खी देखिन्थ्यो। केवल दुई छोरा मध्ये कान्छा छोरा पनि विदेश गएकाले सन्तानको मुख हेर्न पनि रहर लाग्न थालेको उनी बताइरहेका थिए।  ´बुढो भएँ, कहिले संसार छोडिन्छ थाह छैन´ उनले हृदयविदारक स्वरमा भने, ´एक पटक छोरोलाई भेट्ने ईच्छा छ नानी।´  
प्रधानमन्त्री भएपछि एक दुई पटक फोनमा चाही कुरा गरेको उनले खुसी हुँदै सुनाए।   
हाल उनी छोरी, ज्वाईं तथा नातिनीसँगै किर्तिपुरमै बस्दै आएका छन्।  from:dainikee