दुई मुलुकका लागि राजदूत नियुक्त
March 18, 2009
दिपेन्द्र विष्ट
काठमाडौं, चैत ५ - सरकारले दुई देशका लागि राजदूत नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले फ्रान्सका लागि राम कार्की तथा भारतका लागि चन्द्रकान्त पौडेललाई राजदूतमा नियुक्त गरेको छ । कार्की माओवादीका केन्द्रीय सदस्य हुन् ।
बैठक सकिएपछि कानुन मन्त्री देव गुरुङले उक्त जानकारी दिएका हुन् ।
उर्जा संकट कम गर्नपनि सरकारले विभिन्न कार्यक्रम ल्याउने तयारी गरेको उनले बताए । उनकाअनुसार सौर्य उर्जामा सहुलियत तथा साना/ मझौला जलविद्युत आयोजनालाई राष्ट्रिय प्रसारणलाईनमा जोड्ने लगायतका निर्णय मन्त्रिपरिषद्ले गरेको छ । सैनिक अधिकारीको पदावधि विषयमा बैठकमा कुनै कुरा नउठेको उनले बताए । नियमित प्रक्रिया अन्तर्गत अधिकारीहरुले अवकाश पाएकाले सरकारको निर्णयमा पुनर्विचार हुन नसक्ने उनले भने ।
त्यसअघि, बैठकमा त्यस विषयमा कुरा उठेको बताउँदै भौतिक योजना तथा निर्माण मन्त्री विजय गच्छदारले रक्षामन्त्रीको निर्णय उपर पुर्नविचार हुन सक्ने सम्भावना रहेको बताएका थिए ।बैठकले थारु तथा मुस्लिम समूदायसंग सरकारले गरेको सम्झौतालाई पारित गरेको छ । त्यस्तै मोटरसाईकल दुर्घटनामा मृत्यु भएका सभासद बोधनारायण सरदारको दुर्घटना र कोसी पीडितको समस्या सामाधानका लागि अध्ययन गर्न उच्च स्तरीय छानवीन समिति बनाउने सरकारले निर्णय गरेको छ ।
अद्यौगिक क्षेत्र, शैक्षिक र राजमार्गमा बन्द हड्ताल नगर्न पनि सरकारले सरोकारवालाहरुलाई आग्रह गर्ने निर्णय गरेको मन्त्री गुरुङले बताए ।from:ekantipur.com/nepali